काभ्रेपलाञ्चोक । समाजवादी प्रेस संगठन नेपाल काभ्रेपलाञ्चोकले स्थापना दिवसको अवसरमा संवाद कार्यक्रम सुरु गरेको छ । संगठन आज तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको हो ।
कार्यक्रमको सुरुवात नेकपा (एकीकृत समाजवादी) काभ्रेका अध्यक्ष बसुन्धरा हुमागाँई र समाजवादी प्रेस संगठन नेपालका उपाध्यक्ष ध्रुब रायमाझीसँग संवाद गर्दै गरिएको थियो ।
प्रस्तोता सरोज प्रसाद कुइकेलसँग कुरा गर्दै अध्यक्ष हुमागाँईले समाजवादी प्रेस संगठन नेपालको स्थापना दिवसको शुभकामना दिंदै समाजवादको विकल्प नभएको धारणा व्यक्त गर्नु भयो । उहाँले भन्नू भयो,“समाजवादी व्यवस्था नआएसम्म नागरिकको जीवनस्तर माथि उठ्न सक्दैन । लिपुलेक र लिम्पियाधुरामा छिमेकीले गरेको हस्तक्षेपलाई कूटनीतिक स्तरबाट समाधान गर्नुपर्छ । राजनीतिक दलहरूको कमजोरीकै कारण दुई छिमेकीले नेपाललाई हेप्ने अवस्था आएको हो ।”
यस्तै, संगठनका उपाध्यक्ष रायमाझीले विगतमा राजतन्त्रको समयमा प्रेसमाथि भएको दमनलाई स्मरण गर्दै मिडिया जगतले ठूलो संघर्षको सामना गरेको बताउनु भयो । उहाँका अनुसार मिडियाले समय र सान्दर्भिकताअनुसार अघि बढ्नुपर्ने भए पनि पछिल्लो समय चुनौतीहरू बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नु भयो ।
समाजवादी प्रेस संगठन नेपाल काभ्रेपलाञ्चोकका प्रचार विभाग प्रमुख सरोज प्रसाद कुइकेलले संगठनलाई व्यावसायिक, रचनात्मक र सिर्जनशील कार्यक्रमतर्फ प्रेरित गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँका अनुसार, संगठनले आगामी दिनमा फरक–फरक विषयमा फरक–फरक व्यक्तिहरूसँग अन्तरङ्ग छलफल र अन्तर्वार्ता गर्ने योजना बनाएको छ ।