साउन महिनामै १४ अर्बभन्दा बढी ऋण थपियो : कुल सरकारी ऋण २६ खर्ब ८३ अर्ब नाघ्यो

काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामै सरकारले १४ अर्बभन्दा बढी ऋण थपेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले साउन मसान्तसम्मको विवरण सार्वजनिक गर्दै कुल सरकारी ऋण २६ खर्ब ८३ अर्ब ६० करोड रुपैयाँ पुगेको जनाएको छ।

प्रतिवेदनअनुसार आर्थिक वर्षको सुरुआतमा सरकारी ऋण २६ खर्ब ६९ अर्ब ५७ करोड थियो। साउनमा मात्र १४ अर्ब दुई करोडले ऋण वृद्धि भएको छ। यो रकम मुलुकको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४३ दशमलव ९४ प्रतिशत बराबर हुने बताइएको छ।

वैदेशिक ऋण बढी

कुल सार्वजनिक ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५२ दशमलव २६ प्रतिशत छ। यो १४ खर्ब दुई अर्ब ४७ करोड ६५ लाख बराबर हुन्छ। बाँकी ४७ दशमलव ७४ प्रतिशत भने आन्तरिक ऋणको हिस्सा हो।

सरकारले चालु आवका लागि पाँच खर्ब ९५ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य लिएको छ । त्यसअनुसार साउन मसान्तसम्म ४४ अर्ब ५७ करोड बराबरको ऋण उठाइसकेको कार्यालयले जनाएको छ । यो वार्षिक लक्ष्यको ७ दशमलव ४८ प्रतिशत बराबर हो ।

आन्तरिक र बाह्य ऋण

आन्तरिक ऋणतर्फ तीन खर्ब ६२ अर्ब उठाउने लक्ष्यमध्ये साउनमा ११ दशमलव शून्य पाँच प्रतिशत अर्थात् ४० अर्ब रुपैयाँ जुटाइएको छ ।
वैदेशिक ऋणतर्फ दुई खर्ब ३३ अर्ब ६६ करोड ३१ लाख लक्ष्य मध्ये एक दशमलव ९६ प्रतिशत अर्थात् ४ अर्ब ५७ करोड ४८ लाख बराबर ऋण उठाइएको छ ।

साँवा–ब्याज भुक्तानी

चालु आवमा सरकारी ऋणको साँवा र ब्याज तिर्नका लागि चार खर्ब ११ अर्ब एक करोड रुपैयाँ बजेट छुट्याइएको छ । साउन मसान्तसम्म ३६ अर्ब ६८ करोड रुपैयाँ भुक्तानी भइसकेको छ । यो वार्षिक बजेटको ८ दशमलव ९३ प्रतिशत हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *