सिन्धुपाल्चोक । निरन्तर वर्षातसँगै भोटेकोशी गाउँपालिका–२ स्थित इको पहिरो बगिरहेकाले सयभन्दा बढी घरबस्ती उच्च जोखिममा परेका छन्। पहिरो तल भोटेकोशी नदीको बहावले तानेपछि माथिल्ला बस्तीमा त्रास फैलिएको छ।
बाह्रबिसे–कोदारी लोकमार्गअन्तर्गत तातोपानी नाकासमिपको विशाल इको पहिरो रोक्न नसकिएको भोटेकोशी गाउँपालिका–२ का अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिनुभयो। उनका अनुसार चौकीडाँडा, गुम्बाडाँडा, मिलनबजार, लालबिरचोक, कोदारी गुम्बा क्षेत्र, कुदुङ गाउँ, तक्पासा, तार्तुङ, क्युसा, छेर्माङ, डमार, तामाङ गुम्बा लगायतका बस्ती प्रत्यक्ष जोखिममा परेका छन्।
पहिरो निरन्तर खसिरहेकाले कतिपय स्थानीयहरू घरमा ताला लगाएर बाह्रबिसे, तातोपानी बजार, कोदारीबजार, चाकुलगायत सुरक्षित स्थानतर्फ विस्थापित भएका छन्। तर, अन्यत्र बस्न नसक्ने अवस्था भएकाले केही स्थानीय अझै जोखिम मोलेर पहिरोमाथिका बस्तीमै बस्न बाध्य छन्। उनीहरूले तत्काल सुरक्षित स्थलको व्यवस्था गर्न स्थानीय सरकारसँग माग गरेका छन्।
स्थानीय वडाध्यक्षको पहलमा प्रतिनिधिसभा सदस्य माधव सापकोटा, नेपाल हिमालय सीमापार वाणिज्य सङ्घ र सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका पदाधिकारीसहितको टोलीले केही साताअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री देविन्द्र दाहाललाई ज्ञापनपत्र बुझाएको थियो। त्यसपछि भूगोलविद् शुभराज न्यौपानेको टोलीले स्थलगत अवलोकन गरेको छ।
अवलोकनपछि पहिरोभित्रको पानी बाहिर निकाल्न डिलिङ मेसिन प्रयोग गरिएको छ भने भोटेकोशी नदी किनारमा ग्याबिन जाली लगाएर सडक मर्मत सुरु गरिएको छ। साथै, तातोपानी भन्सार क्षेत्रमा कार्यरत मजदुरहरूले श्रमदानमार्फत पहिरोमा नयाँ ट्रयाक बनाउन सहयोग गरेका छन्।
स्थानीयवासी, व्यापारी, उद्योग वाणिज्य सङ्घ र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले पहिरो नियन्त्रण र बस्ती संरक्षणका लागि सरकारलाई तत्काल कदम चाल्न आग्रह गरेका छन्।