ईलामको रोङमा ‘एक घर–एक श्रम’ अभियान : नागरिक सहभागी भएर गाउँको मुहार फेरिँदै

इलामको रोङ गाउँपालिकाले प्रत्येक घरलाई मासिक एक दिन अनिवार्य गाउँ विकासमा श्रम गराउने अभियान सुरु गरेको छ । सडक मर्मतदेखि धार्मिक स्थल संरक्षणसम्मका काममा नागरिक सक्रिय भएपछि गाउँपालिकाको विकास प्रक्रिया प्रभावकारी हुँदै गएको छ ।

इलाम। रोङ गाउँपालिकाले स्थानीय विकासमा नागरिकको सक्रियता बढाउन मासिक ‘एक घर–एक श्रम’ अभियान सुरु गरेको छ । गाउँपालिकाले कार्यविधि बनाएर प्रत्येक घरले महिनामा कम्तिमा एक दिन आफ्नै गाउँको विकासमा श्रम गर्नुपर्ने व्यवस्था लागू गरेको हो ।

गाउँपालिकाका ५७ टोल विकास संस्थामार्फत सडक मर्मत, नाली सरसफाइ, विद्यालय घेराबार, मठमन्दिरको पुनर्निर्माण, सामुदायिक वनमा वृक्षरोपण लगायतका काममा नागरिक संलग्न भएको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “विकासपछि संरचना संरक्षणमा ध्यान नदिँदा धेरै काम नष्ट हुन्थ्यो । नागरिकलाई नै सक्रिय गरेर विकास र संरक्षण दुवै सुनिश्चित गर्न खोजेका हौँ ।”

गाउँपालिकाले सुरुमा ५७ वटै टोल विकास संस्थाका पदाधिकारीलाई प्रशिक्षण दिई मासिक बैठक, सामग्री र आवश्यक बजेट (वार्षिक २० हजार रुपैयाँ प्रति टोल) उपलब्ध गराएको छ । अनिवार्य श्रम नगरे वडाको सिफारिस रोक्नेसम्मको कानुन निर्माण गरी नीति कार्यान्वयन गरिएको छ ।

टोल विकास संस्थाका अध्यक्ष युवराज आचार्यका अनुसार, “सडकमा थुपारिएको काठ हटाउन र सडक भत्किन नदिने काममा नागरिक सक्रिय छन् । गाउँको विकासमा समुदायको सहकार्य उल्लेखनीय छ ।”

गाउँपालिकाको भौगोलिक अवस्थाले विकास कार्यमा चुनौती पुर्‍याए पनि, नागरिक सहभागिताले खर्च कम गर्दै काम प्रभावकारी भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार चौहानले बताए ।

चामेटार टोल विकास संस्थाका अध्यक्ष प्रदीप भुजेलले भने, “कार्यविधि आएपछि सबैलाई काममा एकजुट गराउन सहज भयो । ‘आफ्नो गाउँ आफैँ बनाउनुपर्छ’ भन्ने संस्कृतिको विकास भएको छ ।”

कृषि उत्पादन र ब्राण्डिङदेखि शिक्षा क्षेत्रमा अभिभावक शिक्षा कार्यक्रमसम्म गाउँपालिकाले विकासका विविध गतिविधि सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *