श्रमजीवी वर्ग मुलुकको बहुआयामिक विकासको आधारस्तम्भ हुन्: अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले श्रमजीवी वर्ग मुलुकको बहुआयामिक विकासको आधारस्तम्भ भएको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवस मे १ २०२२ को शुभकामना दिदैँ उहाँले श्रमजीविको सम्मान गरेमात्रै देशको विकास हुनसक्ने बताउनुभएको हो ।

उहाँले सुरक्षित कार्यथलो‚ उचित पारिश्रमिक, सामाजिक सुरक्षा, नीति निर्माणमा श्रमिक वर्गको सहभागिता, सबै प्रकारका विभेदको अन्त्य भएमात्रै श्रमजीवि वर्गले सुरक्षित महशुस गर्ने पनि बताउनुभएको छ ।

यस्तो छ जारी विज्ञप्तीको पूर्णपाठ:

अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १)¸ २०२२ को शुभकामना ! अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १)¸२०२२ को अवसरमा सम्पूर्ण श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । श्रमजीवी वर्गको हक, हित र अधिकार सुनिश्चित नभएसम्म देशको विकास र रूपान्तरण सम्भव छैन । श्रमजीवी वर्ग मुलुकको बहुआयामिक विकासको आधारस्तम्भ हुन् । संविधानले व्यवस्था गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि सम्बद्ध सबै पक्षबाट श्रमको सम्मान र मर्यादा हुनुपर्दछ ।

कम्युनिस्ट आन्दोलन ‘विश्वभरका मजदुरहरू एक होऊ’ भन्ने उद्घोषका साथ शुरू भएको हो । श्रमजीवी जनताको विकासशील संघर्षमा सहभागी बन्ने, त्यसलाई संगठित पार्ने तथा नेतृत्व दिने र विजयसम्म अघि बढाउने घोषणाका साथ २००६ साल वैशाख १० गते स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीको सच्चा उत्तराधिकारीका रुपमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जनताको बीचमा आएको छ । नेपाली समाजको क्रान्तिकारी रुपान्तरणका लागि समाजमा भएका शोषण, दमन र निरकुंशतासंग जुधेर श्रमजीवी वर्गको हित रक्षा गर्न र लोकतन्त्रका मुल्य-मान्यता स्थापित गर्न हाम्रो पार्टी प्रतिवद्ध छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सुरक्षित कार्यथलो‚ उचित पारिश्रमिक, सामाजिक सुरक्षा, नीति निर्माणमा श्रमिक वर्गको सहभागिता, सबै प्रकारका विभेदको अन्त्य गर्दै श्रमिकको जीवनमा प्रत्यक्ष अनुभूत हुने गरी काम गर्न सरकारको ध्यानाकर्षण गराउँदछु । अहिले देशमा ठूलो मात्रामा सक्रिय युवा जनशक्ति श्रमका लागि बिदेशिने गरेको छ । स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराई उनीहरुको ज्ञान, सीप र ऊर्जा देश विकासमा लगाउने हाम्रो प्राथमिकता हो । स्वदेशमा रोजगारीको प्रर्याप्त अवसर नभएसम्म रोजगारीको महत्वपूर्ण माध्यमको रुपमा रहेको वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउनुपर्दछ । निकट भविष्यमा स्थानीय तहको चुनाव आउँदैछ

। श्रमिक आन्दोलन, विभिन्न कालखण्डका जनआन्दोलनहरुमा श्रमजीवी जनताले गरेको बलिदानीपूर्ण संघर्षका उपलब्धीहरुको रक्षा गर्ने, प्रतिगमनकारीहरुलाई सैद्धान्तिक तथा व्यवहारिक रुपमा परास्त गर्ने अवसरका रुपमा यो चुनावलाई उपयोग गर्नुपर्नेछ । हामीलाई विश्वास छ, श्रमजीवी जनताको हित, विकास र समाजवादको आधार निर्माण गर्न नेपाली जनताले हामीलाई आफ्नो विश्वासको मत दिनुहुनेछ । अन्त्यमा, श्रमिकहरुको हक, अधिकार, सुविधा र असल श्रम सम्बन्ध सुनिश्चित गर्न अन्तर्राष्ट्रिय श्रमिक दिवसले प्रेरणा दिनेछ भन्ने विश्वास गर्दै पुनः शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us