नेकपा एकीकृत समाजवादी पार्टी कार्यालयमा ढुंगामुढा: कार्वाहीको माग

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) ले जेनजी आन्दोलनका क्रममा आफ्नाे आलोकनगरस्थित केन्द्रीय कार्यालयमा अज्ञात समूहले गरेको तोडफोड र ढुंगामुढाप्रति कडा आपत्ति जनाएको छ।

पार्टीका उपाध्यक्ष एवम् प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले सोमबार विज्ञप्ति जारी गर्दै “केही अराजक व्यक्तिहरूले पार्टी कार्यालयमा ढुंगामुढा गरी ठूलो भौतिक क्षति पुर्‍याएका छन्” भन्दै घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले यस्ता अराजक कार्यमा संलग्नलाई तत्काल कारबाही गर्न सरकारसँग माग गरेका छन्।

घटनाको समयमा पार्टी कार्यालयमा जनजाति महासंघ समाजवादीका महासचिव चन्द्रबहादुर तामाङसहित केही नेता , कार्यकर्ता र कर्मचारीहरू भित्रै थिए। तामाङका अनुसार आक्रमणकारीहरूले बाहिरबाट एक्कासी ढुंगामुढा गर्दा उनीहरू भित्रै थुनिनु परेको थियो । आन्दोलनकारीहरुले अन्धाधुन्द ढुङ्गामुढा गर्दै गेट भित्रै छिर्न खोजेपछि प्रहरीलाई फोन गरेर सहयोग माग्दा घटना भएको करिब १/२ घण्टासम्मपनि प्रहरी नआएको तामाङले बताए । आक्रमणमा एक नेतालाई ढुङ्गाले लागेर सामान्य चोट लागेको थियो ।

सोमबार बसेको समाजवादीको केन्द्रीय सचिवालय बैठकले तोडफोडको निन्दा गर्दै जेनजी आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ। बैठकले सरकारले दमन रोक्नुपर्ने र वार्ताबाट आन्दोलनकारीका जायज माग सम्बोधन गर्नुपर्ने निष्कर्षसमेत निकालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *