काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुषालले भदौ २३ गते सरकारद्वारा गरिएको गोली प्रहार र २४ गते देशभर भएको तोडफोड, आगजनी तथा लूटपाटलाई नेपालको इतिहासकै कायरतापूर्ण र बर्बर घटना भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।
भुषालले अपिलमार्फत भुषालले भनेका छन्—
“गत भदौ २३ गते सरकारले चलाएको गोलीले जसरी अबोध नेपाली छोराछोरीहरु भुटिए त्यो हाम्रो इतिहासको एउटा सर्वाधिक कायरतापूर्ण बर्बरता थियो। २४ गते भदौका दिन हाम्रो मुलुकमाथि तोडफोड, आगजनी, लूटपाटको जुन सैतानी ताण्डव नाच्यो त्यो नेपाल–अङ्ग्रेज युद्धमा बेलायती फौजले हाम्रा तराईका बस्तीहरुमा गरेको बर्बरतापूर्ण आक्रमणभन्दा भयानक थियो।”
उनले घटनाबाट देखिएको प्रत्यक्ष राष्ट्रिय क्षतिको घाउ असह्य भए पनि त्यसभन्दा ठूलो असर भविष्यका पुस्तामाथि दीर्घकालीन मानसिक ऐठनको रूपमा पर्न सक्ने चेतावनी दिए।
भुषालका अनुसार, यी घटनाहरू सरकारको दुर्बुद्धिका कारण मात्रै नभई सत्तासिन खलनायकको बेबकुफीमाथि सुनियोजित षड्यन्त्रकारीहरूले थपिएको विषको परिणाम हुन्। उनले भने, “देशभक्ति, लोकतन्त्र र सामाजिक न्यायका मूल्यहरुमाथि भइरहेको खेलबाडले वाम–लोकतान्त्रिक आन्दोलनमा हुर्केका लाखौँ इमान्दार सदस्य तथा शुभचिन्तकहरूमा असह्य पीडा, ग्लानी र छलपटी उत्पन्न भएको छ।”
भुषालले लोकतान्त्रिक गणतन्त्रले खोजेको नैतिक नेतृत्वको कमीका कारण आज मुलुक संकटमा परेको दाबी गरे। पार्टीहरूलाई बिर्ता बनाइराख्ने प्रवृत्ति, सुविधाभन्दा बढी देशप्रेमलाई प्राथमिकता नदिने संस्कृतिलाई उनले समस्याको जरो ठहर गरे।
उनको भनाइमा, “राम्रो पार्टी बन्यो भने आफ्नो सुविधा र पद खोसिने डर भएकाहरू पार्टी नेतृत्वमा भर्ति हुँदै गएका कारण पार्टी नेतृत्वको बहुमत नै यथास्थितिको पक्षमा उभिने अवस्था बन्यो। प्रश्न उठाउने तल्लो पङ्तिका असंख्य कार्यकर्ताहरूको आवाज सबैजसो पार्टीका केन्द्रीय कमिटीहरूमा अल्पमतमा परिरह्यो।”
सबैलाई एकताका लागि आह्वान
भुषालले सत्ताले गरेको नरसंहार र त्यसपछि भएको ताण्डवलाई नेपाली राजनीति र प्रक्रियाको “हरिविजोग” को रूपमा व्याख्या गर्दै असाधारण संकटको घडीमा सबैलाई खुला छलफलमा उत्रन आह्वान गरे।
उनले भने, “म देशभक्ति, लोकतन्त्र र मुलुकको समृद्धिको आकाङ्क्षा बोकेका सबै राजनीतिकर्मीहरुलाई सबै बारबन्देज भत्काएर खुल्ला छलफलमा उत्रिन आह्वान गर्दछु। म कम्युनिष्ट आन्दोलनमा हुर्केको एउटा सक्रिय व्यक्तिका हिसाबले सबै कम्युनिष्ट पार्टीका सदस्यहरु, खासगरी नेकपा एमाले र नेकपा माओवादीको स्कूलिङबाट हुर्केका देशभित्र र बाहिर रहेका प्रिय कमरेडहरु, बुद्धिजीवी तथा शुभचिन्तकहरुलाई आह्वान गर्दछु: हाम्रो विचार एउटै हो, नेताहरुका स्वार्थका खरानी रेखाले मात्रै हामीलाई विभाजित गरेको छ।”
भुषालले भन्छन् , “हामी एक ठाउँमा उभिन्छौँ भनेर सङ्कल्प गर्नासाथ एउटा ऐतिहासिक राजनीतिक शक्ति जन्मिन्छ। इतिहासको यस कालखण्डमा केवल एउटा सङ्कल्पको खाँचो छ, हामीलाई विभाजित गर्ने ती सबै बन्धन चुँडाल्न तयार होऔँ।”