रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल रौतहट जिल्लाका विभिन्न स्थानीय तहको चुनावी अभियानमा सहभागी हुनुभएको छ । नजिकिएको स्थानीय चुनावलाई लक्षित गरेर आयोजित कार्यकर्ता भेटघाट, पार्टी प्रवेश तथा भेलाहरुलाई सम्बोधन गर्न आज बिहानै रौतहट पुग्नुभएको हो ।

उहाँ आज रौतहट जिल्लाका विभिन्न ६ वटा स्थानीय तहमा आयोजित कार्यक्रमहरुमा सहभागी हुनुभएको छ । चन्द्रपुर नगरपालिका, वृन्दावन नगरपालिका , गरूडा नगरपालिका ,यमुनामाई नगरपालिका ,माधव नारायण नगरपालिका र गौर नगरपालिकामा स्थानीय पार्टीद्वारा आयोजित स्थानीय निर्वाचनको प्रचार सभा र घर दैलो कार्यक्रममा सहभागी हुनुभयो ।

चुनावी प्रचारप्रसारकै अभियान अन्तर्गत गरुडा नपामा एमालेका प्रदेश कमिटीका सदस्य रामजी साह सहित विभिन्न पार्टीबाट नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने झण्डै ७ सय जनालाई उहाँले स्वागत गर्नुभयो । उहाँ १२ दिन तराईका विभिन्न जिल्लाका चुनावी कार्यक्रममा सहभागी भएर काठमाडौ फर्किने कार्यक्रम तय भएको छ ।