झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको सोमबार शल्यक्रिया गर्ने तयारी

काठमाडौँ । कीर्तिपुर वर्न अस्पतालमा उपचाररत पुर्व प्रधानमन्त्री एवम् नेकपा एसका सम्मानित नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको सोमबार शल्यक्रिया हुने भएको छ ।

कीर्तिपुर वर्न अस्पतालका मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारले नेता खनालकी पत्नी चित्रकारको सोमबार शल्यक्रिया गर्ने तयारी गरिएको जानकारी दिनुभयो । अस्पतालमा ल्याएको भन्दा उहाँको स्वास्थ्यमा केही सुधार आएको भए पनि खतरामुक्त हुन नसकेको डा. ताम्राकारको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, “अस्पतालमा ल्याएको भन्दा उहाँको स्वास्थ्यमा केही सुधार आए पनि खतरामुक्त भने हुन सकेको छैन । आज दिनभर उहाँको स्वास्थ्य अवस्था हेरेर भोलि शल्यक्रिया गर्ने योजना छ ।” हाल उहाँको अस्पतालको आइसियूमा उपचार भइरहेको छ ।

डा. ताम्राकारका अनुसार वर्न केसमा अस्पताल आएको चार–पाँच दिनपछि मात्र समस्या देखिन्छ । उहाँ भन्नुहुन्छ, “वर्न केस अरू केस जस्तो हुँदैन । अस्पताल आएको चार–पाँच दिनपछि मात्र गम्भीर समस्या देखिने हुँदा बिरामीकाे बारेमा केही भन्न सकिदैन ।”

मङ्गलबार हिंसात्मक प्रदर्शनका क्रममा आन्दोलनकारीले डल्लुस्थित झलनाथ खनालको घरमा आगो लगाउँदा समयमै बाहिर निस्किन नसक्दा उहाँ जल्नुभएको थियो ।

आन्दोलनका क्रममा आगजनीमा घाइते भएर आठ जना वर्न अस्पतालमा भर्ना गरिएकोमा छ जना अस्पतालमा उपचाररत छन् । आन्दोलनका क्रममा आगजनीमा घाइते प्रायः श्वासप्रश्वास सम्बन्धी समस्या रहेको उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *