काठमाडौं । गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप बुधबार देशव्यापी सार्वजनिक बिदा घोषणा गरेको छ। मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले आज एक विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को भदौ ३० गतेको निर्णयअनुसार असोज १ गते बुधबार नेपालभर सार्वजनिक बिदा दिइने जानकारी दिएका हुन्।
विज्ञप्तिमा भनिएको छ, “भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा गरिएको प्रदर्शनका क्रममा ज्यान गुमाएका मृतकहरूको सम्मानमा राष्ट्रिय शोक मनाउन असोज १ गते बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय नेपाल सरकार (मन्त्रिपरिषद्) बाट भएको छ।”
मन्त्रालयले सबै निकायलाई निर्णयको जानकारी गराउँदै सार्वजनिक बिदाका दिन झण्डा आधा झुकाएर मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्न अनुरोध गरेको छ।