जेन–जी आन्दोलनपछि पूर्वी नवलपरासीमा २० प्रतिशतभन्दा बढी महँगी

कावासोती । जेन–जी आन्दोलन सुरु भएलगत्तै पूर्वी नवलपरासीमा दैनिक उपभोग्य वस्तुको मूल्य २० प्रतिशतभन्दा बढीले उकालो लागेको छ। आकस्मिक मूल्यवृद्धिले स्थानीय बासिन्दा मात्र होइन, उद्योग वाणिज्य सङ्घदेखि नागरिक समाजसम्म चिन्तित बनेका छन्।

भदौ २३ गतेदेखि जारी आन्दोलनका कारण बजारमा आपूर्ति अवरुद्ध हुँदा खाने तेल, नुन, तरकारी, साबुनजस्ता अत्यावश्यक वस्तुको मूल्य मनपरी बढेको गैंडाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक सापकोटाले जानकारी दिए। किसान शिवकुमारी रानाभाटका अनुसार सामान्य तरकारी किन्न पनि अघिल्लो मूल्यको तुलनामा दोब्बर रकम तिर्न बाध्य भएको छ।

चाडपर्व नजिकिँदै गर्दा झन् मूल्य बढ्ने आशंका बीच जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनलाई कडाइ गरेको छ। प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण गर्न जिल्लाभर छानबिन सुरु गरिएको र महँगीमा बिक्री गर्ने व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएका छन्।

स्थानीय बासिन्दाले महँगी रोक्न तत्काल प्रभावकारी कदम चाल्न सरकार र प्रशासनलाई आग्रह गरेका छन्। नागरिक समाजका अगुवा नारायणप्रसाद गौडेलका अनुसार समयमै नियन्त्रण नगरे आगामी चाडपर्वमा मूल्य झन् असह्य हुने संकेत मिल्दैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *