ताप्लेजुङमा पहिरोको कहर : ११ परिवार विस्थापित, दर्जनौं घर उच्च जोखिममा

ताप्लेजुङ । लगातारको अविरल वर्षापछि आएको पहिरोले ताप्लेजुङको मैवाखोला गाउँपालिकामा ठूलो क्षति पुर्‍याएको छ। पहिरोका कारण ११ घरपरिवार विस्थापित भएका छन् भने एक दर्जनभन्दा बढी घर उच्च जोखिममा परेका छन्।

गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार पहिरोले वडा नं. २ ढुङ्गेसाँघु, वडा नं. ४ साँघु, वडा नं. ५ र ६ फाकुम्बा क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्। ढुङ्गेसाँघुमा दुई घर विस्थापित भएको छ भने साँघुमा पाँच घर पहिरोको उच्च जोखिममा रहेका छन्। त्यस्तै वडा नं. ५ मा एक घर विस्थापित र सात घर जोखिममा छन्। वडा नं. ६ मा भने आठ घरपरिवार पहिरोको कारण विस्थापित भएका छन्।

गएको बुधबार वडा नं. ६ फाकुम्बाको भित्ते बस्तीमा मुढेडाँडाबाट खसेको पहिरोले घर बगाउँदा ६० वर्षीय लाक्पाखाङ्डु शेर्पा र ५५ वर्षीया मिङ्मालाकी शेर्पाको ज्यान गएको अध्यक्ष वनेमले जानकारी दिए।

पहिरोका कारण गाउँपालिकाभित्रका ग्रामीण सडक अवरुद्ध भएका छन् भने वर्षा अझै जारी रहेकाले थप जोखिम कायमै रहेको छ। अध्यक्ष वनेम नेतृत्वको टोलीले मंगलबार क्षतिग्रस्त क्षेत्रको निरीक्षण गर्दै पीडित परिवारलाई धैर्य र सतर्कता अपनाउन आग्रह गरेको छ।

गाउँपालिकाले तत्काल सडक सञ्चालनमा ल्याउन कठिनाइ भएको बताउँदै वर्षा नरोएसम्म थप सतर्क रहन स्थानीयलाई सावधानी अपनाउन चेतावनी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *