झापा। जेनजी प्रदर्शनका कारण बजार र यातायात बन्द हुँदा यहाँका व्यावसायिक केरा किसान मारमा परेका छन्। पाकिसकेका केरा बेच्न नपाएर बोटमै नष्ट भएको किसानको गुनासो छ।
भद्रपुर र गौरीगञ्जमा ८० बिघा क्षेत्रफलमा केरा खेती गर्ने श्रीगणपति एग्रिकल्चर प्रालिका सञ्चालक प्रेम खड्काले रु २५–३० लाख मूल्यको पाकिसकेको केरा बजार पुर्याउन नपाउँदा बगानमै खेर गएको बताए।
‘बजारमा लैजाने तयारी हुँदै थियो, प्रदर्शन सुरु भइहाल्यो,’ उनले भने, ‘बन्दका कारण उत्पादन बजारमा पुर्याउन पाइएन। बगानमै नष्ट भयो।’
यसपाली उत्पादन राम्रो भए पनि बजार नपुगेको कारण किसान चिन्तित छन्। जेनजी प्रदर्शन सकिएतापनि मनसुनी वर्षा र बजारको अनिश्चितताका कारण अहिले बगानमा पाकेका केरा ठूलो परिमाणमा नष्ट हुने जोखिम बढेको उनी बताउँछन्।
झापामा उत्पादित केरालाई काठमाडौँ, विराटनगर, पोखरा, वीरगञ्ज, नेपालगञ्ज, धरान, इलाम लगायतका शहर बजारमा बिक्रीका लागि पठाइन्छ। किसानले प्रतिघरी रु ५००–६०० मा बिक्री गर्दै आएका छन्। तर, भारतबाट सस्तो मूल्यमा आउने केराले नेपाली उत्पादनमा चुनौती थपिरहेको छ।
कनकाई–३ र शिवसताक्षी–७ मा ७० बिघा क्षेत्रफलमा चिनीचम्पा र मद्रासी जातको केराखेती गर्ने बेनु पराजुलीले भने, ‘वैशाखमा हावाहुरीले आधाजसो बगान नष्ट गरिसकेको थियो, अहिले बजार बन्दले २०० घरी पाकेको केरा बगानमै नष्ट भयो।’
झापा गाउँपालिका–३, ४, ६ र ७ मा ३० बिघा केराको व्यावसायिक खेती गर्ने चन्द्र बस्नेतका अनुसार प्रदर्शनकारीले बगानभित्रै पसेर केरा काटेर नष्ट गरेका थिए, जसले रु १० लाख बराबरको क्षति पुर्याएको छ।
कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर बिष्टका अनुसार जिल्लामा १,९०० हेक्टर क्षेत्रमा व्यावसायिक केराखेती हुँदै आएको छ र वार्षिक ३८,८३३ मेट्रिकटन केरा उत्पादन हुने गरेको छ।