काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान दिवसको अवसरमा देशलाई सामान्य संवैधानिक प्रक्रियातिर फर्काएर नेपाली विशेषताको समाजवाद स्थापना गर्न अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
खनालले संविधान घोषणा भएको १० वर्ष पार गरी ११औं वर्षमा प्रवेश गरेको देशले पछिल्लो समय आशा, निराशा, उथलपुथल, विद्रोह र अभूतपूर्व राष्ट्रिय विध्वंस र विनाशको अनुभव गरेको बताएका छन्। उनले २३ भदौको जेन-जी आन्दोलन, त्यसमा भएको बर्बरतापूर्ण दमन, हत्या र २४ भदौमा घुसपैठ गरेर देशी–विदेशी प्रतिक्रियावादी तथा राष्ट्रविरोधी शक्तिहरूले गरेको आगजानी, तोडफोड, लुटपाट र विध्वंसले मुलुकको पहिचान र अस्मितालाई कमजोर बनाएको औँल्याए।
तर उनले ०६२–०६३ को जनआन्दोलन र संविधानसभाबाट बनेको संविधान सुरक्षित रहेको र अहिले पनि मुलुक र जनतालाई वैधानिक मार्गदर्शन प्रदान गरिरहेको स्पष्ट पारे। संविधान घोषणापछि भएका दुई–दुई निर्वाचनबाट बनेका कुनै पनि सरकारले संविधानको मर्म र भावनालाई कार्यान्वयन गर्न नसकेको, सुशासन स्थापना गर्न असफल भएको, भ्रष्टाचार नियन्त्रण गर्न नसकेको, कृषि–उद्योगमा रूपान्तरण गर्न नसकेको, युवा विदेश पलायन रोक्न नसकेको, शिक्षा–स्वास्थ्य सुधार गर्न नसकेको, राष्ट्रिय सुरक्षा सुदृढ गर्न नसकेको र परराष्ट्र सम्बन्ध सन्तुलित गर्न नसकेको उल्लेख गर्दै उनले ठूला पार्टीका नेताहरू आत्मस्वार्थमा रमाएर असफल भएको टिप्पणी गरे।
खनालका अनुसार जेन-जी आन्दोलन त्यसै असन्तोष र आक्रोशको परिणाम हो। उनले नयाँ अन्तरिम सरकार गठन, संसद विघटन र प्रतिनिधिसभाको अर्को निर्वाचन घोषणा जेन-जी आन्दोलनको आधारमा भएको बताए। उनले आग्रह गरे कि जेन-जी आन्दोलनमा भएको बर्बरतापूर्ण दमन, घुसपैठ, महाविध्वंस र देशको लामो समयदेखि चलेको भ्रष्टाचार–कुशासन उच्चस्तरीय आयोगद्वारा छानबिन गरियोस् र दोषीमाथि कडा कारवाही होस्।
उनले सबै राजनीतिक दललाई आत्मसमिक्षा, पुनर्गठन र रूपान्तरण गर्न आवश्यक रहेको र ती काम नगरी मुलुक अघि बढ्न नसक्ने बताए। शान्ति–सुरक्षा कायम राख्दै जनअधिकार पुनर्स्थापना, पुनर्निर्माण र मौलिक अधिकारको सुनिश्चित वातावरण सिर्जना गरेर मात्र आम निर्वाचनतर्फ अगाडि बढ्न सकिने उनको धारणा छ।
खनालले निष्कर्षतः भने, “घोषित आम निर्वाचन सफल पारेर मात्रै मुलुकलाई सामान्य संवैधानिक अवस्थामा फर्काउन र नेपाली विशेषताको समाजवादतर्फ अघि बढ्न सकिन्छ।”
