मुस्ताङ । चीनतर्फका प्रमुख व्यापारिक नाका रसुवा र तातोपानी बाढीपहिरोका कारण अवरुद्ध भएपछि वैकल्पिक रूपमा खुला गरिएको कोरला नाका अहिले मुस्ताङको अर्थतन्त्रका लागि नयाँ संजीवनी बनेको छ । तिब्बतको ढोङ्वासेन हुँदै भित्रिएका कन्टेनर र विद्युतीय सवारीसाधन (इभी)का कारण उपल्लो मुस्ताङका स्थानीयहरू रोजगारी र कमाइमा भ्याइनभ्याइ छन् ।
ल्होमान्थाङ–१ छोसेरका नहर्बु दोर्जे दैनिक चार हजार रुपैयाँमा २४ नम्बर सीमास्तम्भदेखि नेचुङ भन्सारसम्म इभी गाडी पुर्याउन व्यस्त छन् । उनका छिमेकी सोनम गुरुङ पनि यस्तै काम गरेर राम्रो आम्दानी गरिरहेका छन् । नेचुङ–लिजी भन्सार क्षेत्रमा इलेक्ट्रोनिक्स, रेडिमेड कपडा, हस्तकला, मूर्ति र कस्मेटिकसहितका सामान बोकेर आउने कन्टेनरको लोड–अनलोडमै ल्होमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दा धानिएका छन् ।
गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङका अनुसार करिब ८० देखि १०० स्थानीयले अस्थायी रोजगारी पाएका छन् । मजदुरले दैनिक करिब पाँच हजार र चालकले १५ हजार रुपैयाँसम्म कमाइरहेका छन् । कोरला नाकाबाट नेचुङ भन्सार कार्यालयसम्म करिब १४ किलोमिटर दूरीका लागि नेपाली व्यवसायीले स्थानीय ट्याक्टर र अन्य सवारीसाधन भाडामा लिएका छन् ।
यो गतिविधिले पर्यटन र पशुपालनभन्दा बाहेक कृषि तथा निर्माण क्षेत्रमा काम गर्नेहरूलाई समेत सहज बनाएको वडाध्यक्ष कर्म नाम्ङग्याल गुरुङ बताउँछन् । उनी भन्छन्, “नाकाको नियमित सञ्चालन भयो भने वैदेशिक रोजगारीमा पलायन हुने बाध्यता अन्त्य हुन्छ ।”
चीनको सिगात्से हुँदै इभी गाडीको आयात बढेसँगै लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा पहिलोपटक विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल विष्टले रसुवा र तातोपानीसरह कोरलालाई प्राथमिकतामा राखेमा यो नाका चीनसँगको सबैभन्दा उपयुक्त व्यापारिक मार्ग बन्न सक्ने दाबी गरे ।
२०८० कात्तिक २७ मा औपचारिक उद्घाटन भएको कोरला नाकाबाट मुस्ताङ भन्सार कार्यालयले केवल तीन दिनमै नौ करोड ७० लाख ६४ हजार रुपैयाँ राजस्व संकलन गरेको प्रमुख रमेश खड्काले जानकारी दिए । उनका अनुसार चिनियाँ भन्सारबाट नियमित सामान जाँच पास भएपछि राजस्व अझ बढ्नेछ ।
मुस्ताङमा अहिले वैदेशिक रोजगारीमा निर्भर परिवारका लागि कोरला नाका रोजगारी र विकासको नयाँ आधारस्तम्भको रूपमा उभिएको छ ।