लमजुङ। लमजुङमा यस वर्ष अलैंची टिप्न सुरु भएसँगै उत्पादन र आम्दानी दुवैमा उल्लेख्य वृद्धि हुने देखिएको छ। एक हजार दुईसय मिटर उचाइसम्म लगाइएका अलैंची खेतमा अहिले टिपाइको चटारो छ।
मर्स्याङ्दी गाउँपालिका–७, ताराचोक शेराका किसान डम्बरसिंह अधिकारीले डम्बरसाई र जिर्मले जातका बोटमा अलैंची पाकेकाले टिपाइ सुरु गरिएको बताए। “यो वर्ष अलैंची छिट्टै पाक्यो, त्यसैले टिप्ने काम पनि छिट्टै सुरु भयो,” उनले भने, “अब सुकाएर ग्रेडिङ गरेर बेच्न तयार गर्छौं।” ताराचोकका किसानले ४० रोपनीभन्दा बढी जमिनमा अलैंची खेती गरेका छन्।
स्थानीय इन्द्रप्रसाद तामाङका अनुसार गाउँका सबै किसान अहिले अलैंची टिप्न व्यस्त छन्। खेर गइरहेको पाखोबारी र धान खेत मासेर अलैंची लगाउने क्रम बढेसँगै बसाइँ सरेर गएका परिवारसमेत गाउँ फर्किएका छन्। पहिले ६ घरपरिवार मात्रै रहेको मस्र्याङ्दी–७, लुदी गाउँमा अहिले १९ घरपरिवार बसोबास गर्न थालेका छन्।
स्थानीय रामप्रसाद तामाङ भन्छन्, “सहरबजार झरेका धेरैजना गाउँ फर्केर अलैंची खेतीमा लागेका छन्।” लुदी गाउँभरि ४ सय रोपनीमा अलैंची लगाइएको छ। यहाँका किसानले लुदी अलैंची कृषक समूह बनाएर सामूहिक रूपमा खेती गरिरहेका छन्।
मर्स्याङ्दी–६, बाहुनडाँडाका किसान लोकनाथ घिमिरेले पनि अलैंची टिपेर सुकाइसकेका छन्। ६ रोपनीमा लगाइएको रामशाही जातको अलैंचीबाट १५० केजी उत्पादन भएको उनले बताए।
अलैंची व्यवसायी महासङ्घ गण्डकीका अध्यक्ष अजय तामाङका अनुसार १२ सय मिटरभन्दा माथिल्लो भागमा लगाइएको अलैंची दसैँपछि मात्र टिपाइ सुरु हुने छ। जिल्लामा करिब १२ सय रोपनीमा अलैंची खेती गरिएको छ, जसमा ७५० रोपनीमा यस वर्ष उत्पादन हुने अनुमान छ। विगतमा १५ सय रोपनीमा खेती भए पनि रोगका कारण केही अलैंची नष्ट भएको थियो।
मर्स्याङ्दी गाउँपालिकामा मात्रै ४ सय हेक्टरमा अलैंची खेती भएको छ। बेँसीसहर, दोर्दी, दुधपोखरी, क्होँलासोँथर गाउँपालिकाका विभिन्न बस्तीतर्फ पनि व्यावसायिक खेती विस्तार भइरहेको छ। यस वर्ष ६० मेट्रिक टन अलैंची उत्पादन हुने अनुमान छ।
जिल्लाभरका किसानले विगतमा अलैंची बिक्रीबाट १६ करोड रुपियाँभन्दा बढी आम्दानी गर्दै आएका छन्। उत्पादन वृद्धि र मूल्य वृद्धिका कारण यो वर्ष करिब २० करोड रुपियाँसम्मको आम्दानी हुने अपेक्षा लमजुङ अलैंची व्यावसायिक महासङ्घका अध्यक्ष सोमबहादुर तामाङले व्यक्त गरे।
नेपाल अलैंची व्यवसायी महासङ्घका अनुसार प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा हाल अलैंचीको मूल्य प्रतिमन (४० किलो) गुणस्तरअनुसार ८१ हजारदेखि ९२ हजार रुपियाँसम्म छ। उच्चतम गुणस्तरको ‘बोल्ड’ अलैंची प्रतिमन ९२ हजार, सामान्य गुणस्तरको ‘चालु’ ८१ हजार र मध्यम गुणस्तरको ‘जेजे’ ८४ हजारमा बिक्री भइरहेको छ।