आज पितृपक्षको समापन, पितृश्राद्ध तीर्थस्थलमा भक्तजनको भीड

काठमाडौँ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको सोह्र श्राद्ध अर्थात् पितृपक्ष आज अपराह्न औँसी तिथिको श्राद्धसहित समापन हुँदैछ । दिवङ्गत पितृको स्मृतिमा तर्पण, सिदादान र पिण्डदान गर्ने वैदिक परम्परा अनुसार उपत्यकाको गोकर्णेश्वर, बेत्रावती, देवघाट, त्रिवेणीसहितका प्रमुख तीर्थस्थलमा भक्तजनको ठूलो भीड लागेको छ।

धर्मशास्त्रअनुसार पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदासहित सोह्र दिनसम्म श्राद्ध गर्नुपर्ने प्रचलन छ । निर्धारित दिनमा श्राद्ध गर्न नसके आजको औँसी तिथिमा गर्नुपर्छ भन्ने मान्यता छ । अझै पनि कारणवश आज गर्न नसके आश्विन शुक्ल पञ्चमीदेखि मङ्सिरसम्मका विशेष तिथिहरूमा गर्न सकिने शास्त्रीय विकल्प रहेको धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए ।

श्राद्ध नगरे पितृ असन्तुष्ट हुने र सन्तानलाई श्राप दिने शास्त्रीय उल्लेखका कारण श्रद्धालुहरू देशभरका तीर्थस्थलमा जुटेका छन् । वैदिक सनातन परम्पराअनुसार ठूला चाडपर्व सुरु गर्नु अघि पितृलाई सम्झेर दायित्व पुरा गर्ने सोह्र श्राद्ध सम्पन्न भएपछि असोज ६ गते सोमबार घटस्थापनासहित दुर्गापक्ष अर्थात् बडादसैंको विधिवत् प्रारम्भ हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *