कञ्चनपुर । आधुनिकताको प्रभाव र कच्चा पदार्थको अभावले परम्परागत वाद्यवादन निर्माणमा निर्भर बादी समुदायको पुख्र्यौली पेशा अस्ताउने अवस्थामा पुगेको छ । दोधारा चाँदनी नगरपालिका–३ का रेशम बादीका अनुसार मादल, ढोलक, दामाहा जस्ता वाद्यवादनका सामग्री बनाएर पुस्तौंदेखि जीविकोपार्जन गर्दै आएको यो समुदाय अहिले विकल्प खोज्न बाध्य भएको छ ।
“बुबाबाजेले यही पेशाबाट घर चलाउनुभयो, म पनि निरन्तरता दिन्थेँ,” रेशम बादी भन्छन्, “तर छाला र खमारी काठ सहजै नपाएपछि मादल बनाउने काम संकटमा छ ।” भारतीय बजारमा छालाको मूल्य बढ्नु र सीमानाकामा ल्याउन रोक लगाइनु पनि बाधक बनेको उनले बताए ।
तीज र दसैंतिहारमा एक समय भ्याइनभ्याइ हुने मादलको माग अहिले डिजिटल संगीतको बढ्दो चलनले घटेको छ । “अब तीजमा डिजेमा नाच्छन्, मादलको रौनक हराइसकेको छ,” उनी भन्छन् । अहिले माग मुख्यत: दसैंको समयमा थारू समुदायबाट मात्र आउने बताइन्छ, तर कच्चा पदार्थ नपाउँदा नयाँ मादलभन्दा पुरानाको मर्मतमा बढी ध्यान दिनुपर्ने अवस्था आएको छ ।
उपजीविकाको संकटले रेशम बादीले अहिले घरेलु जुत्ता उद्योग सञ्चालन गरेर परिवारको खर्च धानिरहेका छन् । “सिजनमा मात्र मादल बनाउँछु, बाँकी समय जुत्ता पसलकै भर पर्छु,” उनी भन्छन्, “पाँच छोराछोरीको पाल्न यहीँबाट हो ।”
बादी समुदायको मौलिक सीप जोगाउन सरकारले आवश्यक पहल गर्नुपर्ने उनीहरूको माग छ, नत्र पुस्तौंदेखि चलेको वाद्यवादन निर्माणको पहिचान हराउने खतरा बढ्दै गएको छ ।