काठमाडौँ। हिन्दू धर्मावलम्बीको महान् पर्व बडादसैँ आजदेखि औपचारिक रूपमा प्रारम्भ भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिनसम्म धूमधामका साथ मनाइन्छ। पर्वको पहिलो दिन आज देशभर घरघरमा विधिपूर्वक घटस्थापना गर्दै दुर्गा पक्षको शुभारम्भ गरिएको छ।
आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा शुद्ध स्थलबाट ल्याइएको बालुवा वा माटो गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा राखी, त्यसैमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ गर्ने चलन छ। उक्त स्थानमा जौ रोप्दै जमरा राख्ने परम्परा अनुसार समृद्धि र विजयको प्रतीक पहेंलो जमरा विजयादशमीको दिन टीका प्रसादसँगै ग्रहण गरिन्छ।
धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा.डा. देवमणि भट्टराईका अनुसार जमरामा जौ बाहेक अन्य अन्न रोप्ने शास्त्रीय विधि छैन। यद्यपि परम्पराअनुसार कतिपय स्थानमा अन्य अन्न पनि राख्ने प्रचलन पाइन्छ। समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार सूर्योदयको प्रतिपदामा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता अनुरूप आज बिहान ९:१३ बजे घटस्थापनाको साइत निर्धारण गरिएको हो।
दुर्गा देवीका तीन रुप—महाकाली (शक्ति), महालक्ष्मी (धनधान्य र ऐश्वर्य) र महासरस्वती (विद्या र बुद्धि)—लाई नवरात्रभर विधिपूर्वक पूजा आराधना गर्ने वैदिक परम्परा छ। असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने यो पर्व कुनै जात वा धर्म विशेषको मात्र नभई समस्त मानव जातिकै साझा उत्सव भएको धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतम बताउँछन्।
नवरात्रका नौ दिनमा शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री गरी नौ दुर्गाको पूजा आराधना गरिन्छ। प्रत्येक दिन छुट्टाछुट्टै देवीको आराधना गर्ने यस परम्परामा दुई वर्षभन्दा माथिका नौ कन्याको पूजा गर्ने विधि पनि छ।
बडादसैँको सातौँ दिन फूलपाती भित्र्याउने, महाअष्टमी र महानवमीका दिन कोत र शक्तिपीठमा बलिपूजा गर्ने तथा नवमीका दिन हनुमानढोका दरबारको कोतमा ५४ बोका र ५४ राँगाको बलि दिने परम्परा यथावत् छ। नवरात्रभर दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्रको पाठ पारायण गरिन्छ।
यस वर्षको विजयादशमी असोज १६ गते परेको छ। देवी विसर्जनको साइत बिहान ९:२३ बजे र टीकाप्रसाद ग्रहणको उत्तम साइत ११:५३ बजे निर्धारण गरिएको समितिले जनाएको छ। विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसाद ग्रहण गर्ने चलन छ भने पूर्णिमाको रात महालक्ष्मीको व्रत बसी जाग्राम रहेर धनधान्य प्राप्तिको कामना गर्ने परम्परा छ।
काठमाडौँको हनुमानढोकाको दसैँ घरमा पनि आजैदेखि वैदिक विधिपूर्वक घटस्थापना गरी शक्तिस्वरुपा दुर्गाको विशेष पूजा सुरु गरिएको छ। महानवमीसम्म दैनिक बलिपूजासहित पूजा आराधना निरन्तर चल्नेछ।
देशका विभिन्न भागमा अध्ययन, रोजगारी वा अन्य कामले परदेशिएका मानिसहरू यस अवसरमा घर फर्की परिवारसँग पुनर्मिलन गर्दै बडादसैँको उल्लास साझा गर्छन्। यही कारण बडादसैँलाई पारिवारिक पुनर्मिलनको पर्वका रूपमा समेत चिनिन्छ। धेरै शैक्षिक संस्थाले पनि आजदेखि दसैँ बिदा प्रारम्भ गरेका छन्।