झलनाथ खनालकी पत्नी रविलक्ष्मीलाई थप उपचारका लागि दिल्ली लगियो

काठमाडौं । जेनजी आन्दोलनको प्रदर्शनका क्रममा आगजनीमा गम्भीर घाइते पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई थप उपचारका लागि भारत लगिएको छ । चित्रकारको दिल्लीस्थित एपोलो अस्पताल थप उपचार हुनेछ ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत चित्रकारलाई ज्वरो र निमोनिया देखिएपछि चिकित्सकको सिफारिसमा दिल्ली लैजाने निर्णय परिवारले गरेको हो। परिवारका अनुसार उपचारका क्रममा बायाँ हात गुमाइसकेकी चित्रकारसँग उनका छोरा निर्भिक खनाल र सहयोगी प्रेम प्रसाद जैसी पनि हुनेछन्।

अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन डा. शंकरमान राईले चित्रकारको ज्यान अहिले खतरामुक्त रहेको जानकारी दिएका छन्। “फोक्सोमा अत्यधिक धुवाँ र ग्यास पुगेका कारण निमोनिया भएको हो, निको हुन केही समय लाग्छ,” उनले भने।

डा. राईका अनुसार चित्रकारको शरीरमा करिब १५ प्रतिशत जलन भएको छ र पूर्ण रूपमा निको पार्न थप उपचार आवश्यक छ।

खनालको निजी सचिवालयका अनुसार रविलक्ष्मी चित्रकार भर्खरै नेपाल एयरपोर्टबाट दिल्ली उडिसकेकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *