कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वरपरका बस्तीमा हात्ती आतङ्क झन् चर्किएको छ। वर्षौंदेखि प्रयोग हुँदै आएका सायरन, उज्यालो, टिन ठटाउने र पटाका पड्काउने जस्ता परम्परागत उपाय अब काम गर्न छाडेका छन्। किसानको भनाइमा, हात्ती यस्ता आवाज र दृश्यसँग अभ्यस्त भइसकेका कारण न त आगो बाल्दा तर्सिन्छन् न त धपाउँदा फर्कन्छन्।
नगरपालिकाका किसान दामोदर जोशी भन्छन्, “पहिले त हात्तीलाई टिन ठटाउँदै, उज्यालो देखाउँदै सजिलै भगाउन सकिन्थ्यो। अहिले भने रातभरि खेतमै बसेर धान खाएर नष्ट गर्छन्।” दुई दिनअघि मात्रै गर्जमुनी गाउँको धानबारीमा पसेको करिब दुई दर्जनको हात्तीको बथान बिहानसम्म रहँदा किसान, प्रहरी, सेना र निकुञ्ज सुरक्षाकर्मीको प्रयास पनि विफल भएको उनले बताए।
वडा नं. ५ का करिब १० बिघा धान एकै रातमा सखाप भएको वडाध्यक्ष चक्रबहादुर खड्काको भनाइ छ। “हात्ती अहिले यति चलाख भइसकेका छन् कि पटाका पड्काउँदा, टिन ठटाउँदा पनि भाग्दैनन्,” उनले भने।
स्थानीयवासीले नदी किनारमा तारजाली र तटबन्ध निर्माणलाई दीर्घकालीन समाधानका रूपमा देखेका छन्। पूर्ववडाध्यक्ष जगतबहादुर सिंहका अनुसार स्याली नदी किनारमा जडान गरिएको दुई-स्टेपको तारजाली भएको क्षेत्रमा हालसम्म हात्ती पसेको छैन।
हात्तीको निरन्तर आक्रमणले आर्थिक मात्र नभई मानवीय जोखिम पनि बढेको छ। “अब त हात्ती गाउँकै सडकमा हिँड्न थालेका छन्, मानिसको ज्यानसम्मको खतरा बढेको छ,” वडा नं. ७ का किसान दानसिंह कुँवरले बताए।
विशेषज्ञहरूका अनुसार हात्तीलाई दैनिक करिब २०० किलो खाना चाहिन्छ, जसका कारण धान, मकै, गहुँ, उखु, केरा जस्ता बालीको गन्धले उनीहरूलाई आकर्षित गर्छ। वडाध्यक्ष दानसिंह ऐरले निकुञ्ज वरपरको क्षेत्रमा मेन्था, अदुवा, बेसार, खुर्सानी जस्ता हात्ती नछोने बालीको खेती प्रवर्द्धन गर्न सुझाव दिएका छन्।
स्थानीय तह र किसानले निकुञ्ज र सरकारसँग विद्युतीय फेन्सिङ, नदी किनारमा तटबन्ध, वैकल्पिक बाली खेती र बजार प्रवर्द्धनका लागि सहकार्य गर्न आग्रह गरेका छन्। बाँके र बर्दियामा सफल देखिएको इलेक्ट्रिक फेन्सिङ शुक्लाफाँटामा पनि तत्काल लागू गर्नुपर्ने उनीहरूको माग छ।
भारतको दुधुवा नेशनल पार्क हुँदै शुक्लाफाँटा क्षेत्रमा छिर्ने हात्तीका बथानले बर्सेनि बालीनाली र सम्पत्तिमा ठूलो क्षति पुर्याउँदै आएका छन्। विज्ञहरूका अनुसार अब वैज्ञानिक अध्ययन, आधुनिक प्रविधि र समुदायमैत्री रणनीति बिना मानव–हात्ती द्वन्द्व रोक्न असम्भव देखिन्छ।