काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकारहरूको पेसागत र भौतिक सुरक्षाप्रति सरकार गम्भीर रहेको बताउँदै यस विषयमा राज्यका सम्बन्धित निकायसँग तत्काल छलफल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। नेपाल पत्रकार महासङ्घ, नेपाल टेलिभिजन प्रतिष्ठान शाखाद्वारा आज आयोजित हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री खरेलले पत्रकारहरूको सुरक्षा व्यवस्था सुदृढ बनाउन गृहमन्त्रीलगायत सम्बन्धित पक्षसँग गहन छलफल गर्ने तयारी रहेको जानकारी दिए।
उनले गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनको समाचार सङ्कलन गर्ने क्रममा पत्रकार सुरेश रजकको निधनको घटना गम्भीर रहेको उल्लेख गर्दै छानबिन र न्यायका लागि सरकार तत्पर रहेको स्पष्ट पारे। आन्दोलन तथा प्रदर्शनका क्रममा मृत्यु वा घाइते भएका अन्य पत्रकारका घटनामा पनि छानबिन अघि बढाउने उनको भनाइ थियो।
यस वर्षको हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार स्व. रजकलाई मरणोपरान्त प्रदान गरिएको छ। मन्त्री खरेलले पुरस्कारले रजकसहित स्व. हेम भण्डारी र सुनिल सिंहप्रति श्रद्धाञ्जली अर्पण गर्दै पत्रकारहरूको पेशागत जोखिमलाई स्मरण गराए। उनले भने, ‘सम्मानले परिवारलाई धैर्यता र साहस दिन्छ। स्व. पत्रकार रजकको न्यायका लागि मन्त्रालय तत्पर रहनेछ, गृहमन्त्रीसँग छलफल गर्छु, प्रधानमन्त्रीसमक्ष पनि कुरा पुर्याउँछु।’
मन्त्री खरेलले पत्रकारको पेशा कुनै पनि कालखण्डमा जोखिमपूर्ण रहेको बताउँदै जीवनमा गाँस, बास, कपासको अभाव भइरहे पनि राष्ट्र र जनताको सेवामा कलम चलाउने काम निरन्तर रहन्छ भन्ने धारणा व्यक्त गरे।
साथै, उनले सार्वजनिक सेवा प्रसारण नेपाल (पिएसबी) लाई स्वतन्त्र, व्यावसायिक र आर्थिक रूपमा आत्मनिर्भर बनाउने लक्ष्य सरकारको रहेको उल्लेख गरे। ‘रेडियो नेपाल र नेपाल टेलिभिजनको मर्ज मात्र पिएसबी होइन, जिम्मेवार र व्यावसायिक सार्वजनिक सेवा प्रसारण संस्था निर्माणमा ध्यान केन्द्रित गरिएको छ,’ उनले स्पष्ट पारे।
समारोहमा सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले स्व. रजकको परिवारको मागअनुसार न्यायका लागि मन्त्रालय प्रतिबद्ध रहेको दोहोराइन्। स्व. रजकको परिवारले दोषी पत्ता लगाई कारबाहीको दायरामा ल्याउन माग राखेको थियो।
सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा. महेन्द्र विष्टले संस्थालाई सही रूपले परिभाषित गर्न सबैको सहयोग आवश्यक रहेको बताए। नेपाल पत्रकार महासङ्घ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाका अध्यक्ष सुरेन्द्र पौडेलले पिएसबीको मर्मअनुसार सञ्चालन र बजेट सुनिश्चितताको माग गर्दै बजेट अभावका कारण नेपाल टेलिभिजनका पाँचै च्यानल सञ्चालनमा कठिनाइ देखिएको बताए।
नेपाल टेलिभिजनका दिवंगत पत्रकार हेम भण्डारी र सुनिल सिंहको स्मृतिमा स्थापित एक लाख राशिको हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार २०६४ सालदेखि साहसिक पत्रकारिता गर्ने टेलिभिजन पत्रकारलाई हरेक वर्ष असोज ७ गते प्रदान गर्दै आइएको छ। विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा समाचार सङ्कलनका क्रममा भएको हवाई दुर्घटनामा भण्डारी र सिंहको निधन स्मरणमा यो पुरस्कार स्थापना गरिएको हो।