भोजपुर । वर्षौंदेखि विदेशमा कडा परिश्रम गरे पनि अपेक्षित कमाइ र सन्तुष्टि नपाएका भोजपुरका धेरै युवा अहिले आफ्नै गाउँ फर्किएर व्यावसायिक कृषि, जडीबुटी खेती र पशुपालनमा सफल उद्यमी बन्दै गइरहेका छन्। उनीहरू विदेशमा सिकेका अनुभव र सीपलाई स्वदेशमै प्रयोग गर्दै मनग्य आम्दानी मात्र होइन, गाउँमै रोजगारी र प्रेरणादायी उदाहरण पनि सृजना गरिरहेका छन्।
टेम्केमैयुङ गाउँपालिका–१, तिम्माका प्रेमबहादुर बस्नेत त्यस्तै उदाहरण हुन्। लामो समय विभिन्न देशमा श्रम गरे पनि मनग्य कमाइ नभएपछि उनी गाउँ फर्किए। अहिले उनी बाख्रापालन र जडीबुटी खेतीमार्फत राम्रो आम्दानी गरिरहेका छन्। “विदेशमा धेरै दुःख गरेँ तर कमाइ सोचेजस्तो भएन,” बस्नेतले सुनाए, “गाउँमै बसेर गरेको बाख्रापालन र जडीबुटी खेतीले विदेशको आम्दानीभन्दा बढी फाइदा दिइरहेको छ।”
उनी युवालाई छोटो समयमा ठूलो लाभको आशामा मात्र विदेश नपुग्न आग्रह गर्छन्। बस्नेतको अनुभवमा निरन्तरता र धैर्य राख्न सके कृषिमा स्थायी लाभ सम्भव छ। “कुनै पनि व्यवसायमा सीप अनिवार्य छ,” उनले बताए, “राज्यले कृषकलाई आवश्यक तालिम र प्राविधिक सहयोग उपलब्ध गराउनुपर्छ।”
भोजपुरका विभिन्न ग्रामीण क्षेत्रमा बस्नेतजस्तै धेरै युवा विदेशबाट फर्किएर व्यावसायिक कृषि र पशुपालनतर्फ आकर्षित छन्। तर आवश्यक प्राविधिक ज्ञान, तालिम र पशुचिकित्सकीय सेवा अभावले उनीहरूलाई चुनौती भइरहेका छन्। उनीहरूको भनाइमा, सरकारी सेवा सरल र पहुँचयोग्य भए गाउँमै बसेर राम्रो आम्दानी गर्दै स्थायी रोजगारी सिर्जना गर्न सकिन्छ।