रौतहटमा ५० कृषकलाई पम्पसेट वितरण

रौतहट । बाढी प्रभावित कृषकलाई पुनः उत्पादनतर्फ उन्मुख बनाउन र कृषि आत्मनिर्भरता बढाउने लक्ष्यसहित रौतहटको माधवनारायण नगरपालिकाले ५० जना किसानलाई आधुनिक सिँचाइ उपकरण वितरण गरेको छ। नगरपालिकाले सञ्चालन गरेको ‘कृषि पुनर्स्थापना तथा सहनशीलता प्रवर्धन परियोजना’ अन्तर्गत वडा नं. ८ र ९ का किसानलाई पम्पसेट र डेलिभरी पाइप उपलब्ध गराइएको हो।

नगर प्रमुख बैजनाथ प्रसाद यादवका अनुसार वडा ८ का ३२ र वडा ९ का १८ किसानलाई उपकरण वितरण गरिएको हो। परियोजनाका कृषि अधिकृत बिबेक रौनियारले प्रत्येक वडामा आवश्यक बोरिङ्ग जडान कार्य पहिल्यै सम्पन्न भइसकेको जानकारी दिए।

परियोजना अनुसार वडा ८ मा १६ र वडा ९ मा ६ किसान समूह छन्। समूहको निर्णयअनुसार वडा ८ का प्रत्येक समूहबाट २ जना र वडा ९ का प्रत्येक समूहबाट ३ जनालाई पम्पसेट प्रदान गरिएको नगरपालिका कृषि शाखा अधिकृत अनुजकुमार झाले बताए। उपकरणको संरक्षण र नियमित मर्मतका लागि तीन सदस्यीय समिति पनि गठन गरिएको छ।

सिँचाइ सामग्री वितरणले किसानको उत्पादन क्षमता वृद्धि गर्ने विश्वास वडा ८ का अध्यक्ष योगेन्द्रप्रसाद महतोले व्यक्त गरे। उनले भने, “यसले किसानलाई आधुनिक खेतीतर्फ उन्मुख गराउनेछ र उनीहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउनेछ।”

वडा ८ की राधाकृष्ण कृषक समूहकी सदस्य कोशीला देवीले नगरपालिकाको यो पहलले किसानलाई आत्मनिर्भर बनाउने मार्ग प्रशस्त गरेको बताइन्। उनले भनिन्, “कृषिमा आधुनिकीकरण र यान्त्रीकरणका लागि नगर प्रमुख यादवको प्रयास सराहनीय छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *