काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच बुधबार सिंहदरबारमा महत्वपूर्ण भेटवार्ता भएको छ। नवनियुक्त मन्त्रीलाई बधाई ज्ञापन गर्दै राजदूत सोङले सफल कार्यकालको शुभकामना व्यक्त गरे।
भेटमा नेपाल–चीनबीचको सडक र विद्युत् प्रसारण लाइन कनेक्टिभिटी, चिनियाँ निर्माण कम्पनीले ठेक्का लिएका सडक तथा विद्युत् आयोजनाको प्रगति, ऊर्जा क्षेत्रमा सहकार्य, चिनियाँ सहयोगमा सञ्चालित परियोजनाको कार्यान्वयन अवस्था र चिनियाँ लगानीलगायत विषयमा विस्तृत छलफल भयो।
मन्त्री घिसिङले काठमाडौं–कोदारी (अरनिको) र स्याप्रुबेंसी–रसुवागढी सडकलाई दुवै देशलाई जोड्ने संवेदनशील र महत्वपूर्ण मार्ग भन्दै पहिरो तथा कमजोर भौगोलिक अवस्थाका कारण जोखिम बढेकाले चिनियाँ प्रविधि प्रयोग गरी दीर्घकालीन समाधानसहितको मर्मतमा सहयोग गर्न आग्रह गरे। उनले काठमाडौं उपत्यका चक्रपथ विस्तारअन्तर्गत चिनियाँ अनुदानमा निर्माण हुने कलङकी–बसुन्धरा खण्डको काम तत्काल सुरु गर्न पनि अनुरोध गरे।
त्यसैगरी, अरुण नदी करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजना र नेपालको विद्युत् बजारलाई प्रतिस्पर्धी बनाउन किमाथाङ्काबाट अर्को अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न पहल गर्नुपर्ने आवश्यकता औँल्याए। घिसिङले चिनियाँ कम्पनीले ठेक्का लिएको कमला–कञ्चनपुर आयोजना सन्तोषजनक नबनेको र नारायणघाट–बुटवल तथा मुग्लिन–पोखरा सडक विस्तारलाई गति दिन सहजीकरण आवश्यक रहेको बताउँदै सहयोग मागे।
राजदूत सोङले नेपालका प्राथमिकता प्राप्त क्षेत्रमा सहयोग गर्न चीन सधैं तयार रहेको दोहोर्याए।
भेटमा मन्त्रालयका सचिव केशव कुमार शर्मा, विकास सहायता समन्वय तथा गुणस्तर महाशाखा प्रमुख सुशीलबाबु ढकाल, सडक विभागका महानिर्देशक विजय जैशी, परराष्ट्र मन्त्रालय उत्तरपूर्व एशिया महाशाखाका उपसचिव मनहरी दङ्गाललगायतको सहभागिता थियो।