गुल्मी । गुल्मीमा बुधबार साँझ आएको आकस्मिक मौसमीय परिवर्तनले जनजीवन अस्तव्यस्त बनाएको छ। भीषण चट्याङ र सर्पदंशका छुट्टाछुट्टै घटनामा तीन जना गम्भीर घाइते भएका छन् भने तीनवटा गोरु मरेका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार इस्मा गाउँपालिका–४ दोहोलीकी ४६ वर्षीया निर्मला खत्री, इस्मा–५ बेसारीकी २५ वर्षीया कालीका खत्री र धुर्कोट गाउँपालिका–७ वाग्ला धरमपानीका ५८ वर्षीय कृष्णप्रसाद पन्थी चट्याङबाट घाइते भएका हुन्। खत्रीद्वय आफ्नै घरभित्र बसिरहेको र पन्थी मकै केलाउँदै गर्दा आँगनमा चट्याङ परेको प्रहरीले जनाएको छ। उनीहरू तीनै जनाको उपचार गुल्मी अस्पताल तम्घासमा भइरहेको छ।
यसैबीच, चट्याङकै कारण मालिका गाउँपालिका–४ खामदेशस्थित सामुदायिक वनमा दुर्गाप्रसाद अर्याल र चिरञ्जीवी अर्यालका तीनवटा गोरु मरेका छन्।
यस्तै, मदाने गाउँपालिका–३ सिर्सेनी काफलपाटामा घाँस काट्ने क्रममा ३६ वर्षीय डोरबहादुर विकलाई विषालु सर्पले टोकेपछि उनी पनि गुल्मी अस्पतालमा उपचाररत छन्।
जिल्ला प्रशासनले वर्षा र चट्याङको मौसममा सर्वसाधारणलाई जोखिम कम गर्न सतर्क रहन र सुरक्षाका उपाय अपनाउन आग्रह गरेको छ।