काठमाडौं । दसैं नजिकिँदै गर्दा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या तीव्र गतिमा बढेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार घटस्थापनाको दिनदेखि हालसम्म जम्मा १ लाख ३८ हजार २९६ जनाले उपत्यका छाडेका छन्।
स्कूल–कलेजको बिदा सुरु भएपछि घर फर्किनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार यस वर्ष अग्रिम टिकट बुकिङ औपचारिक रूपमा खुला नगरिए पनि एक दिनअघि टिकट लिने व्यवस्था गरिएको छ। यही कारण गोंगबु नयाँ बसपार्कमा टिकट खरिद गर्नेलाई ठूलो भीड देखिएको छ।
उपत्यका बाहिरिने यात्रुहरूका लागि गोंगबु नयाँ बसपार्कसँगै माछापोखरीस्थित धादिङ बसपार्क, कोटेश्वर, कलंकी लगायतका मुख्य चोकमा पनि यात्रुको भीड बाक्लिँदै गएको छ। दसैं अगाडि अझै धेरैले घर फर्किने भएकाले ट्राफिक प्रहरी र यातायात व्यवसायीले भीड व्यवस्थापनमा विशेष सतर्कता अपनाइरहेका छन्।