चितवनमा धानबालीमा मरुवा रोगको प्रकोप, उत्पादनमा कमी आउने अनुमान

चितवन । जिल्लाभर धानबालीमा मरुवा रोगको प्रकोप बढ्दै गएको छ, जसका कारण यस वर्ष धान उत्पादन घट्ने आशंका गरिएको छ। जिल्ला कृषि विकास कार्यालयका अनुसार हाल अधिकांश खेतमा यो रोग देखिएको छ ।

बाली विकास अधिकृत गीता केसीका अनुसार दैनिक सातदेखि दस जना किसानहरू मरुवा रोगको समस्या लिएर कार्यालयमा सल्लाहका लागि पुगिरहेका छन्। ढुसीको कारण फैलिने यो रोग लाग्दा धानको पातमा स–साना सेता टीकाभित्र खैरो लाम्चिला दाग देखिन्छन् भने बालादेखि तलको डाँठ वरिपरी र आँख्लामा पनि खैरो दाग देखिन्छ।

रोग नियन्त्रणका लागि खेतमा पानी जमाइराख्न र ढुसी प्रतिरोधी जातको धान प्रयोग गर्न किसानलाई आग्रह गरिएको छ। केसीले रोग देखिएलगत्तै नजिकको कृषि विकास कार्यालयमा सम्पर्क गर्न किसानलाई सुझाव दिएकी छन्।

जिल्लामा यो वर्ष २७ हजार २०७ हेक्टरमा धान रोपिएको छ। तर रोग, किरा र पुरानो बिउ प्रयोग गर्नुपरेको बाध्यताले गत वर्षको तुलनामा उत्पादन घट्ने अनुमान गरिएको कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *