काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले आगामी असोज १७ देखि २० गतेसम्मको अवधिमा नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । भारी वर्षाको पूर्वानुमानसँगै बाढी, पहिरो र भूक्षयको जोखिम बढ्ने भन्दै विशेषतः रातको समयमा यात्रा नगर्न चेतावनी दिइएको हो ।
जल तथा मौसम विज्ञान विभागले सो अवधिमा काठमाडौंसहित देशका विभिन्न स्थानमा तीव्र वर्षा हुने सम्भावना व्यक्त गरेको छ । यससँगै विपद्जन्य घटनाको जोखिम बढ्ने भएकाले अनावश्यक यात्रा रोक्न प्रशासनले सुझाव दिएको हो ।
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचनामार्फत भनिएको छ, “असोज १७ देखि २० सम्म सकेसम्म लामो दूरीको यात्रा नगर्नुहोस्, जरुरी परे दिनको समयमा मात्र यात्रा गर्नुहोस् । विशेषगरी काठमाडौं प्रवेश गर्ने र बाहिरिने यात्रुहरूले रातिको समयमा यात्रा नगर्नु हुन अनुरोध छ ।”
प्रशासनले नागरिकलाई आफ्नो स्थानमा नै सुरक्षित बस्न, सतर्क रहन र विपद् न्यूनीकरणका लागि सजग हुन समेत आह्वान गरेको छ ।
