देश संकटमा, सरकार जिम्मेवार बनोस् : पूर्व प्रधानमन्त्री खनाल


देश संकटमा, सरकार जिम्मेवार बनोस् : विपद्काबेलामा युद्धस्तरमा खटिन आह्वान

काठमाडौं । लगातारको अविरल वर्षाका कारण देशभर बाढी, पहिरो र डुवानले विनाश मच्चाइरहेका बेला पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सरकारलाई तत्काल युद्धस्तरमा उद्धार तथा राहत कार्य गर्न आग्रह गरेका छन्।

खनालले सामाजिक संजाल फेसबुकमा भनेका छन् — “मुलुकमा अप्रत्याशित रूपमा सिर्जना भएको विध्वंसको पीडा मेटिन नपाउँदै फेरि निरन्तर वर्षाले देशभर बाढी र पहिरोको कहर ल्याएको छ। कैयौँ नागरिक बेपत्ता छन्, धेरै घर र खेत बगेका वा पुरिएका छन्, राजमार्ग तथा सडकहरू क्षतिग्रस्त भएका छन्, र सयौँ परिवार घरबारविहीन बनेका छन्।”

उनले विपद् र दुर्घटनामा परी ज्यान गुमाउने आमाबाबु, दिदीबहिनी तथा दाजुभाइहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै खनालले अझै पनि प्राकृतिक जोखिम नटरेको कारण उच्च सतर्कता र सावधानी अपनाउन सम्पूर्ण नागरिकलाई आह्वान गरेका छन्।

खनालले राजनीतिक दलहरू, तीनै तहका सरकारहरू, जङ्गी तथा निजामती प्रशासन, स्थानीय तह, नागरिक समाज र सम्पूर्ण सरोकारवालाहरूलाई यो आपतको घडीमा जनताको सेवामा एकजुट भई युद्धस्तरमा खटिन आग्रह गरेका छन्।

उनले सरकारसँग मृतकका परिवारलाई तुरुन्त राहत प्रदान गर्न, बाढी–पहिरो पीडितहरूको उद्धार तथा पुनर्वास गर्न, आवश्यक औषधि र स्वास्थ्य सेवा सुनिश्चित गर्न र प्रभावित जनजीवनलाई छिटो सामान्य अवस्थामा फर्काउन ठोस कदम चाल्न माग गरेका छन्।

नेता खनालले भनेका छन्, “राष्ट्र संकटमा हुँदा सबै राजनीतिक शक्ति, नागरिक समाज र राज्य संयन्त्र एकताबद्ध भएर जनताको सुरक्षामा समर्पित हुन जरुरी छ। यही नै साँचो देशप्रेम र जिम्मेवारीको प्रमाण हो।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *