चुनावी काउन्टडाउन सुरु : आयोगद्वारा फागुन २१ का लागि कार्यतालिका स्वीकृत

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विस्तृत कार्यतालिका स्वीकृत गरेको छ। सोमबार बसेको आयोग बैठकले सबै प्रक्रिया समयबद्ध रूपमा सम्पन्न गर्न कार्यतालिका अनुमोदन गरेको हो।

आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “आगामी २०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आयोगले गर्नुपर्ने कार्यहरूलाई समयबद्ध रूपमा सञ्चालन गर्न आज निर्वाचन कार्य तालिका स्वीकृत गरिएको छ।”

कार्यतालिका अनुसार निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता कार्यक्रम मंसिर १ देखि १० गतेसम्म सञ्चालन हुनेछ। प्रत्यक्ष प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ।

यस्तै फागुन ३ देखि १८ गतेसम्म चुनावी प्रचारप्रसार चल्ने र त्यसपछि प्रचार निषेध अवधिमा प्रवेश गरिनेछ। फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने र दुवै प्रणालीका मतपेटिका संकलनपछि मतगणना सुरु गरिने आयोगले जनाएको छ।

समानुपातिक प्रणालीतर्फ मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पौष १८ र १९ गते बन्द सूची पेस गर्ने कार्यक्रम तय गरिएको छ।

आयोगका अनुसार निर्वाचनमा राजनीतिक दल र सरोकारवालासँगको समन्वय र सहकार्यका लागि समय समयमा परामर्श र छलफल हुनेछन्।

साथै आयोगले स्पष्ट गरेको छ कि निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न मंसिर १ देखि १० गतेसम्मको अवधिभित्र मात्र सम्भव हुनेछ। यसका लागि आयोगमा दर्ता कायम नभएका दलहरूले कात्तिक ३० अगावै राजनीतिक दल दर्ता प्रमाणपत्र लिनुपर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *