संविधान विपरीत प्रेस स्वतन्त्रता विरुद्धका कानुन संशोधन गर्ने तयारीमा सरकार

काठमाडाैं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले संविधान विपरीत प्रेस स्वतन्त्रताविरुद्धका कानुन संशोधन गर्ने तयारीमा सरकार रहेको बताउनुभएको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मिडिया एक्सन नेपाल र अनलाइन टिभि पत्रकार सङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले सरकारले कुनै पनि खालको प्रेस स्वतन्त्रता विरोधी खाले कानुन ल्याउने पक्षमा नरहेको र यदी त्यस्तो प्रेस स्वतन्त्रता विपरीत कानुन भइरहेको भए पनि संशोधनको पक्षमा रहेको बताउनुभयो ।

“नेपाल प्रेस स्वतन्त्रताप्रति प्रतिबद्धता रहेकोले कानुनमा प्रेस स्वतन्त्रताविरुद्ध कुरा राखिदैन ।” उहाँले भन्नुभयाे ।

मन्त्री शर्माले पत्रकारमाथिको निगरानी र घेराबन्दी प्रेस स्वतन्त्रता विपरीत रहेको बताउनुभयो । सरकारले प्रेसलाई नियन्त्रण र निगरानी नभइ जवाफदेही बनाउनुपर्ने उहाँले बताउनुभयो । “प्रेसले फौजदारी र देवानी कानुन उल्लङ्घन गर्छ भने नियन्त्रण नभइ जवाफदेही बनाउनुपर्दछ,” उहाँले भन्नुभयो ।

उहाँले संसद् लामो समयदेखि सञ्चालन हुन नसक्दा नागरिकसँग प्रत्यक्ष जोडिएका कानुन संशोधन गर्न कठिनाई भएको भनाइ राख्नुभयो । “लामो समयदेखि संसद् सुचारु नहुँदा जनताका आवाज लामो समयदेखि अवरुद्ध छन्,” उहाँले भन्नुभयो । उहाँले नेपाल पक्ष राष्ट्र भएको अन्तर्राष्ट्रिय कानुन र नेपालको संविधानभन्दा बाहिर गएर सङ्क्रमणकालीन न्याय प्रक्रिया अगाडि  बढन नसक्ने भन्दै सरकारले त्यही दायराभित्र रहेर नेपालमा विगतमा भएका मानवअधिकारका उल्लङ्घनका घटनालाई सम्बोधन गर्न सुरु गरिसकेको बताउनुभयो ।

कार्यक्रममा सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगनबहादुर हमालले प्रेस स्वतन्त्रता विपरीत कतिपय कानुन भए पुनःविचार गर्न सरकार तयार रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us