भारतमा रहेका झलनाथ खनालको आग्रह : इलामको जनजीवन सामान्य बनाउन राज्य गम्भीरता पुर्वक लागोस्

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले हालै देशमा भएको विपद्को घटनाप्रति गहिरो दु:ख प्रकट गरेका छन्।

भदौ २४ गते “जेन–जी” पुस्ताको नामबाट भएका विध्वंसात्मक गतिविधिका क्रममा डल्लुस्थित निवासमा आगजनी हुँदा जलेर गम्भीर घाइते भएकी श्रीमती रविलक्ष्मी चित्रकारको उपचारकालागी भारतमै रहेका खनालले विपद्का कारण ईलाममा भएको मानवीय र भौतिक क्षतिप्रति दु:ख प्रकट गरेका हुन् ।

खनालले भनेका छन्, ‘एउटा विध्वंसात्मक घटना सेलाउन नपाउँदै यही असोज १८ र १९ गते देशभर आएको प्राकृतिक प्रकोपका कारण विशेषगरी इलाम जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको खबर आफूले नयाँ दिल्लीमै म्याडमको उपचारमा व्यस्त रहँदा ढिलो गरी प्राप्त गरे , प्राप्त विवरणअनुसार इलाम जिल्लामा मात्र ३९ जनाले ज्यान गुमाएका छन् भने एक जना अझै बेपत्ता छन्। ठूलो संख्यामा जनता घरबारविहीन बनेका छन् र राजमार्ग, सडक, पुल लगायतका संरचना क्षतिग्रस्त भएका छन्।’

खनालले विपद्मा परी ज्यान गुमाउने इलामका नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले मृतकका परिवारलाई आवश्यक राहत उपलब्ध गराउन, बाढी र पहिरोबाट प्रभावित नागरिकहरूलाई अविलम्ब राहत तथा पुनःस्थापनाको व्यवस्था गर्न, निःशुल्क औषधि उपचारको सेवा उपलब्ध गराउन र जनजीवनलाई यथाशक्य चाँडो सामान्य अवस्थामा फर्काउन राज्यका सबै संयन्त्रसँग जोडदार माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *