सङ्कटमा परेको नेपालको पर्यटन क्षेत्रलाई पुनः जागृत गराउने तयारी

काठमाडौं । कोरोना महामारी कारण सङ्कटमा परेको नेपालको पर्यटन क्षेत्रलाई पुनः जागृत गराउन आगामी आर्थिक वर्षको बजेटमा प्रवर्द्धनका लागि मात्रै थप १९ करोड ६० लाख बराबरको बजेट व्यवस्था गर्न सिफारिस गरिएको छ । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा नेपालको पर्यटन प्रवर्द्धन, प्रचारप्रसार र नेपाल खुला छ, भन्ने सन्देश प्रवाहका लागि थप बजेटको माग गरिएको राष्ट्रिय पर्यटन पुनरुत्थान समितिले जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम ओलेको अध्यक्षतामा गठन भएको सो समिति मातहतको प्राविधिक समितिले सम्वद्ध सरोकारवालासँगको  छलफलका आधारमा कठिन समयमा नै नेपालको प्रचारप्रसार गरेर बढी भन्दा बढी पर्यटक भित्र्याउनुपर्ने सुझाव दिएको छ । प्राविधिक समितिका संयोजक राजाराम गिरीका अनुसार परम्परागत तवरले भन्दा पनि सिर्जनात्मक ढङ्गले प्रचार गर्नुपर्नेमा जोड दिइएको छ ।

 सोही लक्ष्य हासिल गर्न आगामी सेप्टेम्बरमा अन्तर्राष्ट्रिय पर्यटन शिखर सम्मेलन आयोजना गरिएको छ । सम्मेलनमा २० भन्दा बढी देशका उच्चस्तरीय प्रतिनिधिमण्डललाई सहभागी गराउने तयारी छ । त्यसमा नेपालमा सबैभन्दा बढी पर्यटक आउने देशका पर्यटनमन्त्रीलाई आमन्त्रण गरिनेछ । दक्षिण एशियाली मुलुकका पर्यटनमन्त्री तथा पर्यटन क्षेत्रमा काम गरिरहेका विज्ञ तथा जानकारलाई सम्मेलनमा सहभागिताका लागि आमन्त्रण गरिनेछ । 

नेपाललाई माया गर्ने अन्तर्राष्ट्रिय पर्वतारोही, पदयात्री तथा नेपालको पर्यटनका क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वलाई सम्मेलनमा सहभागी गराई, उनीहरुको सुझाव तथा सल्लाह लिन लागिएको संयोजक गिरीको भनाइ छ । सम्मेलनले विश्ववयापी रुपमा नेपाल खुल्ला छ, पर्यटनमैत्री छ, ‘आउनुस, नेपालको भ्रमण गर्नुस्’ भन्ने सन्देश विश्ववयापी रुपमा प्रवाह गर्ने समितिले विश्वास लिएको छ ।

विश्वका प्रख्यात सेलीब्रेटीलाई आमन्त्रण गर्ने क्रम सुरु भएको छ । टर्कीका प्रख्यात सेलीब्रेटी कास्की पुग्नुभएको छ। यस्तै, अन्य देशका कलाकार, खेलाडी तथा पर्वतारोहीलाई आमन्त्रण गरेर नेपालका बारेमा विश्ववयापी रुपमा चर्चा परिचर्चाको केन्द्रमा पुर्याउने समितिले लक्ष्य तय गरेको छ । 

यस्तै, समितिले नेपालको हरेक पर्यटकीय क्षेत्रको जानकारी रहने गरी ‘टुरिजम डिजिटल म्याप’ बनाउने भएको छ। ‘एक गाउँ एक पर्यटन क्षेत्र’ को अभियानलाई पनि सोही डिजिटल नक्शामा समावेश गर्ने लक्ष्य छ। सो काम नेपाल पर्यटन बोर्डले गर्नेछ। नयाँ पर्यटकीय गन्तव्यदेखि पुराना गन्तव्य पनि त्यसमा जोडिनेछन्। पर्यटकले सो नक्शा हेर्ने वित्तिकै नेपालका पर्यटकीय क्षेत्रको बारेमा थाहा पाउनेछन्। सो कार्यका लागि रु ५० लाख बराबरको खर्च गर्ने तयारी गरिएको संयोजक गिरीको भनाइ छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us