बबईका वनमा पुतलीको आतंक : ११ सय हेक्टर वन उजाड, तोरी–गहुँ खेतीमा समेत खतरा

तुलसीपुर । दाङको बबई गाउँपालिकामा पुतलीको एक प्रजातिले वन क्षेत्र उजाड बनाएपछि कृषिमा समेत असर पर्ने चिन्ता बढेको छ। बबई गाउँपालिकाभित्रका पदमपुर, चित्तलगैरा, पूर्व हापुरे, सीमगैरा, खयरभट्टी, बाघदैला र पानीसवालगायतका सामुदायिक वनमा फैलिएको पुतलीले करिब ११ सय हेक्टर वन क्षेत्र नष्ट गरेको वन कार्यालयले जनाएको छ।

पुतलीले लाथ्रा, बल्लाबल्ली, खावा र बुट्यानजस्ता वनस्पतिका पात र हरियो भाग खाएर जंगल नै उजाड बनाएको छ। पुरन्धारा सब–डिभिजन वन कार्यालय, पूर्व हापुरेका प्रमुख वरिष्ठ वन अधिकृत खिमबहादुर केसीका अनुसार यो समस्या महुत प्रजातिको पुतलीबाट उत्पन्न भएको हो, जसले रुखका डाँठ र हाँगामा हरियो चम्किलो अण्डा राखेर तीव्र रूपमा प्रजनन गर्छ।

केसीले भने, “मौसम परिवर्तनसँगै पुतलीको प्रजनन बढेको छ। हामीले अहिले जैविक विधिबाट नियन्त्रण सुरु गरेका छौं , पानीको फोहोरा र चिप्लो पदार्थ प्रयोग गरेर वयस्क मौथ हटाइँदैछ।” उनका अनुसार, आवश्यक परे रासायनिक औषधी छर्केर पनि कीरा नियन्त्रण गरिने तयारी छ।

तर, समयमै नियन्त्रण हुन नसके हिउँदमा हुने तोरी, गहुँ र जौँ खेतीमा समेत ठूलो क्षति पुग्ने जोखिम रहेको उनको भनाइ छ। थप अध्ययनका लागि डिभिजन वन कार्यालयमार्फत अनुसन्धान संस्थामा पठाइएको पनि उनले जानकारी दिए।

यो पहिलो घटना होइन। केसीका अनुसार, करिब चार वर्षअघि घोराही उपमहानगरपालिकाको वडा नं. ११ का चार सामुदायिक वनमा पनि यस्तै समस्या देखिएको थियो। त्यतिबेला नमुना परीक्षणका लागि पठाइए पनि प्रतिवेदन नआएपछि उपभोक्ताले आफैं पुतलीका प्यूपा टिपेर नष्ट गरेका थिए।

यस पटक भने बबई गाउँपालिकाका सामुदायिक वनमा देखिएको संकट समाधानका लागि उपभोक्ता समूह र डिभिजन वन कार्यालयबीच समन्वय गरेर तत्काल कदम चालिने तयारी भइरहेको छ।

पदमपुर सामुदायिक वनका अध्यक्ष ज्ञान्द्रबहादुर खड्काले भने, “रुखका सबै पात खाइदिएपछि वन नै ठ्याङ्ग्रिएको छ। ठूला रुख सकेर अहिले भूँइका बुट्यान र झारपात पनि सखाप पारिसकेका छन्।” उनका अनुसार, वन उजाड भएपछि साल, टिक, सिसो र बकाइनोजस्ता प्रजाति पलाउने हुन् कि होइनन् भन्ने चिन्ता समुदायमा बढेको छ।

वन नष्ट हुँदै जाँदा केवल वातावरणीय सन्तुलनमा होइन, त्यस क्षेत्रको कृषि उत्पादन, चरन क्षेत्र र स्थानीय जनजीवनमा समेत गम्भीर असर पर्ने खतरा विशेषज्ञहरूले चेतावनी दिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *