काठमाडौं । नेपाल लेखापढी कानुन व्यवसायीहरूको छाता संगठन नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनले आफ्नो ३१औं वार्षिकोत्सव आज भव्य रूपमा सम्पन्न गरेको छ ।
महासचिव हरिप्रसाद पौडेलका अनुसार एसोसिएसनले आफ्नै केन्द्रीय कार्यालय डिल्लीबजार, काठमाडौंमा भेला गरी वार्षिकोत्सव मनाएको हो । उक्त अवसरमा छलफलका साथै समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रमसमेत गरिएको उनले जानकारी दिए ।
यस अवसरमा एसोसिएसनले शुभ दीपावली, छठ पर्व र नेपाल संवत्का अवसरमा शुभकामना आदानप्रदान पनि गरेको थियो ।

कार्यक्रममा निवर्तमान महासचिव कृष्णप्रसाद दाहालले एसोसिएसनले यहाँसम्म आइपुग्दासम्मका अनुभव र संघर्षका विषयमा जानकारी गराए । उनले विभिन्न समयमा गरिएको संघर्ष र त्यसबाट प्राप्त उपलब्धिलाई आत्मसात गर्दै संस्था निरन्तर अघि बढिरहेको उल्लेख गरे ।
दाहालका अनुसार वार्षिकोत्सवले संस्थालाई थप गतिशील र उद्देश्यपूर्ण दिशामा अघि बढाउने विश्वास व्यक्त गरिएको छ ।
त्यसैगरी निवर्तमान अध्यक्ष तेजप्रसाद ढकालले लामो संघर्ष र समर्पणका कारण संस्था आजको अवस्थामा आइपुगेको बताए । उनले हरेक कठिन परिस्थितिको सामना गर्दै पनि एसोसिएसनलाई एकमत भएर अघि बढाउनुपर्नेमा जोड दिए ।
“हाम्रो व्यवसायलाई मानिसहरूले राम्रो दृष्टिले हेरेका छैनन्,” ढकालले भने, “हामीभित्र रहेका कमजोरी सच्याएर समाजको नजरमा सकारात्मक छवि बनाउनुपर्छ — यो नै अहिलेको चुनौती हो।”
तीनपटक अध्यक्ष भइसकेका ढकालले सरकारको दृष्टिकोण अझै पनि लेखापढी व्यवसायीहरू प्रति सकारात्मक नदेखिएको गुनासोसमेत गरे ।
त्यसैगरी, अध्यक्ष सिताराम दाहालले एसोसिएसनका अगाडि थुप्रै चुनौतीहरू रहेको स्वीकार गर्दै त्यसको सामना गर्दै अघि बढ्नुपर्ने बताए ।
उनले नेपाल बार एसोसिएसनले आफ्ना मागहरूलाई सकारात्मक रूपमा हेरेको उल्लेख गर्दै साझा लक्ष्य प्राप्तिका लागि आवश्यक परे सबैसँग समन्वय गर्न तयार रहन सदस्यहरूलाई आग्रह गरे ।
“हामी एकातिर व्यवसाय गर्छौं भने अर्कोतिर सामाजिक सेवामा पनि सक्रिय छौं भन्ने देखाउनुपर्ने बेला आएको छ,” अध्यक्ष दाहालले भने, “हामीभित्र केही समस्या भए छलफल गरी समाधान खोजौं, एकजुट भई सामूहिक हितका लागि अघि बढौं — यही आजको आवश्यकता हो।”
अध्यक्ष दाहालले पोखरा इकाई समितिको अगुवाइमा त्यहाँको मालपोत कार्यालय सञ्चालनमा आएको जानकारी दिँदै त्यसलाई एसोसिएसनको उल्लेखनीय उपलब्धि भनेका छन् ।

“हाम्रो पहल र अन्य निकायको सहकार्यमा मालपोत कार्यालय सञ्चालनमा आएको हो,” उनले भने, “यसलाई जस्ताको त्यस्तै प्रचार–प्रसार गर्न र बुझाउन सक्नुपर्छ।”
दाहालले कलंकी मालपोत र नापी कार्यालयमा चिठी तथा निवेदन सहयोग गर्दा शुल्क नलिन पनि आफ्ना सदस्यहरूलाई आग्रह गरेका छन् ।
कार्यक्रममा उपस्थित सहभागीहरूले आगामी चाडपर्वहरूको शुभकामना आदानप्रदान गरेका थिए ।
एसोसिएसनका अनुसार देशभरका जिल्ला र इकाई समितिहरूले पनि वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।
स्मरणीय छ — २०५२ साल असोज २७ र २८ गते भएको पहिलो भेलाले केशव नेपालको संयोजकत्वमा “नेपाल लेखापढी व्यवसायी समिति” गठन गरेको थियो ।
त्यसपछि भएको पहिलो महाधिवेशनले नवराज पुडासैनीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो ।
२०६३ साल जेठ २९ गतेदेखि यस संस्थाको नाम “नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन” राखिएको हो ।
हालै ललितपुरमा सम्पन्न महाधिवेशनले सिताराम दाहाललाई तेस्रोपटक अध्यक्षमा निर्वाचित गरेको छ ।