पोखरा। पोखराको मणिपाल शिक्षण अस्पतालमा कार्यरत नर्सहरूले न्यून तलबका विरुद्ध आन्दोलन थालेपछि अस्पताल प्रशासनले हाललाई २४ देखि २९ हजार रुपैयाँसम्म तलब वृद्धि गर्ने प्रस्ताव गरेको छ। नर्सहरूको आन्दोलन तीव्र बन्दै गएपछि अस्पताल प्रशासनले मंगलबार उक्त प्रस्ताव अघि सारेको हो।
अस्पताल प्रशासनका अनुसार नर्सहरूलाई तत्काल पाँचौं तहका कर्मचारी सरहको ३४ हजार ७३० रुपैयाँ पारिश्रमिक दिनु सकारात्मक पक्ष भए पनि, अस्पतालको वर्तमान आर्थिक अवस्थाका कारण अहिले त्यस्तो निर्णय लिन सकिने स्थिति छैन।
प्रशासनका एक प्रतिनिधिले भने, “हामीले अहिले प्रदेशभरकै उत्कृष्ट तलब संरचना प्रस्ताव गरेका छौं। हामी नर्सहरूलाई राम्रो वातावरण र सेवासुविधा उपलब्ध गराउँदै, अस्पतालको गुणस्तर र सन्तुष्टिमा सुधार ल्याउने प्रयासमै छौं।”
अस्पतालले नर्सहरूलाई उचित सेवा–सुविधा प्रदान गर्दै देशमै काम गर्ने वातावरण निर्माण गर्ने दिशामा निरन्तर प्रतिबद्ध रहेको दाबी गरेको छ। नर्सहरूले यसअघि सम्मानजनक तलब, जोखिम भत्ता, ओभरटाइम सुविधा र नियमित बिदा दिनुपर्ने माग राख्दै आन्दोलन सुरु गरेका थिए।
प्रशासनले सबै मागहरूलाई चरणबद्ध रूपमा सम्बोधन गर्ने र संवादमार्फत समाधान खोज्ने प्रतिबद्धता जनाएको छ। अस्पताल स्रोतका अनुसार, आगामी दिनमा संरचनागत सुधार र मानव संसाधन सन्तुलनका उपायहरू पनि अघि सार्ने तयारी भइरहेको छ।
मणिपाल प्रशासनले नर्सहरूको योगदानलाई उच्च सम्मान गर्ने बताउँदै, स्वास्थ्य सेवाको गुणस्तर र कर्मचारी सन्तुष्टिका बीच सन्तुलन कायम राख्दै अघि बढ्ने अठोट व्यक्त गरेको छ।