भूमि आयोग खारेजको विरोधमा एमाले निकट किसान महासंघ सडकमा

अध्यक्ष दंगालको चेतावनी : “पुनःस्थापना नभए आन्दोलनको आँधीबेहरी उठ्नेछ”

काठमाडौँ। सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेपछि त्यसको विरोधमा नेकपा (एमाले) निकट अखिल नेपाल किसान महासंघ आज काठमाडौँमा सडकमा उत्रिएको छ।

मंगलबार अपराह्न महासंघको आह्वानमा राजधानीको तीनकुनेमा विरोध प्रदर्शन र कोणसभा आयोजना गरिएको हो। कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष डा. प्रेम दंगालले आयोगको पुनःस्थापना नभए देशव्यापी आन्दोलनको आँधीबेहरी सुरु हुने चेतावनी दिए।

उनले भने, “गरिब किसानको हितमा स्थापना गरिएको आयोगलाई खारेज गर्नु सरकारले गरिबमाथि गरेको अन्याय हो। यदि सरकारले तत्काल निर्णय फिर्ता लिएन भने, हामी ५ लाख सदस्यसहित सडकमा ओर्लनेछौं र देशभर आन्दोलनको ज्वालामुखी फूट्नेछ।”

अध्यक्ष दंगालका अनुसार किसानहरूको हक अधिकार सुनिश्चित गर्न स्थापना गरिएको आयोग खारेज भएपछि महासंघलाई सडकमा उत्रिनु बाध्यात्मक बनेको हो।
“भूमि समस्या समाधान आयोग अविलम्ब पुनःस्थापना गर, निर्णय खारेज गर,” उनले जोड दिँदै भने, “अब हामीलाई रोकिने अवस्था छैन, यो आन्दोलन गरिब किसानको न्यायका लागि हो।”

प्रदर्शनका क्रममा सहभागीहरूले सरकारविरुद्ध चर्का नाराबाजी गर्दै “भूमि अधिकार सुनिश्चित गर”, “किसानमाथि अन्याय बन्द गर”, “आयोग पुनःस्थापना गर” जस्ता नाराहरू लगाएका थिए।

कार्यक्रममा महासंघका विभिन्न तहका पदाधिकारी, किसान नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
महासंघले भनेको छ — सरकारले गरिब किसानका समस्या समाधान गर्ने संवेदनशील निकाय नै खारेज गरेर सामाजिक न्याय र समावेशी भूमिसुधारको प्रयासलाई कमजोर पारेको छ, जसको प्रतिवादका लागि देशभर आन्दोलन क्रमिक रूपमा विस्तार गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *