चिनियाँ विश्वविद्यालयले कृषि क्षेत्रमा ल्यायो एआईको नयाँ क्रान्ति :“शेननोंग ३.०”

बेइजिङ । चीनले कृषि क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगलाई नयाँ उचाइमा पुर्‍याउँदै ‘शेननोंग ठूलो मोडेल ३.०’ सार्वजनिक गरेको छ। चीन कृषि विश्वविद्यालयले विकास गरेको यो अत्याधुनिक मोडेलले बीउ उत्पादनदेखि खेतीपाती, सिँचाइ, रोग नियन्त्रण र उत्पादन व्यवस्थापनसम्मका सम्पूर्ण कृषि कार्यहरूलाई अझ स्वचालित, दक्ष र प्रयोगमैत्री बनाउने लक्ष्य लिएको छ।

‘शेननोंग ३.०’ बेइजिङमा यही अक्टोबर १४ मा आयोजित २०२५ विश्व कृषि–खाद्य नवप्रवर्तन सम्मेलनमा सार्वजनिक गरिएको हो। मुख्य अनुसन्धानकर्ता वाङ याओजुनका अनुसार, यस संस्करणले अघिल्लो मोडेलभन्दा पाँच प्रतिशत बढी कार्यक्षमता देखाएको छ। यसको संरचना पुनः डिजाइन गरिएको छ, जसले कम्प्युटिङ लोडलाई घटाउँदै ‘हलुका तर उच्च प्रदर्शन’ दिने सन्तुलन कायम गरेको छ।

शेननोंग मोडेलको विकासक्रम १.० बाट सुरु भएको हो, जसले कृषि ज्ञान र प्रश्न–उत्तर क्षमताको आधार तयार पारेको थियो। त्यसपछि आएको २.० संस्करणमा दृश्य र आवाजमार्फत संवाद गर्न सक्ने सुविधा थपियो। अब ३.० ले यी सबै क्षमताहरूलाई परिष्कृत गर्दै अझ उन्नत र व्यवहारिक स्वरूपमा अघि बढाएको छ।

मोडेलसँगै अनुसन्धान टोलीले ‘एजेन्ट मञ्च’ नामक नयाँ प्लेटफर्म पनि सार्वजनिक गरेको छ, जसले कृषि कार्यहरूलाई थप स्वचालित र सहकार्यमा आधारित बनाउनेछ। यसमा ६ वर्गमा विभाजन गरिएका ३६ विशेष कार्यहरू रहेका छन्, जसले खेतमा प्रयोग हुने उपकरण र प्रविधिसँग समायोजन गर्दै बिरुवा सुरक्षा, रोग नियन्त्रण तथा उत्पादन सल्लाहजस्ता सेवा किसानलाई प्रत्यक्ष उपलब्ध गराउनेछन्।

सन् २०२३ मा सुरु गरिएको यो परियोजनामा एक करोडभन्दा बढी कृषि चित्र, पाँच करोड आधुनिक कृषि उत्पादन अभिलेख र २० हजार कृषि पुस्तकहरूको जानकारी समावेश गरिएको छ। ‘शेननोंग’ नाम चीनको पौराणिक पात्रबाट लिइएको हो, जसलाई कृषि र औषधीय जडीबुटीको ज्ञान दिने मानिन्छ।

हाल यस प्रविधिको परीक्षण बेइजिङ वरपरका क्षेत्रहरूमा, भीत्री मंगोलिया स्वायत्त क्षेत्र र पूर्वोत्तर चीनको हैलोङज्याङ प्रान्तमा सुरु भइसकेको छ। अनुसन्धान टोलीका प्रमुख वाङ याओजुनका शब्दमा, ‘शेननोंग ठूलो मोडेल ३.०’ को सार्वजनिकरणले चीनको कृषि क्षेत्रमा उच्च कार्यक्षमता, आत्मनिर्भर प्रविधि र स्मार्ट खेतीको नयाँ युगको सुरुआत गरेको छ।

(सिन्ह्वाको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *