सुधारिएको खेती प्रणालीले बदलिँदै धनुषा बटेश्वरका किसानको जीवनशैली

जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिकाका किसानहरू अहिले सुधारिएको कृषि प्रणालीतर्फ तीव्र रूपमा अग्रसर हुँदै छन्। परम्परागत खेती विधिलाई विस्थापन गर्दै उनीहरूले अब आधुनिक र वैज्ञानिक प्रविधि अपनाउन थालेका छन्, जसले उत्पादन र आम्दानी दुवैमा उल्लेखनीय वृद्धि ल्याउने अपेक्षा गरिएको छ।

बटेश्वर गाउँपालिका–२, धुमासनका २५ जना किसान (२० महिला र ५ पुरुष) ‘गणेश धानबाली उत्पादन कृषक पाठशाला’मा सहभागी छन्। उनीहरूले सामूहिक रुपमा सीप र ज्ञान सिकेर आफ्नै खेतमा प्रयोग गर्न थालेका छन्। सुधारिएको बिउ, जैविक मल र समयमै रोग नियन्त्रणका उपायहरूले खेतीमा नयाँ उर्जा थपिएको किसानहरू बताउँछन्।

कृषक पाठशालाकी अध्यक्ष संजिला महतो भन्छिन्, “पहिले पुरानो तरिकाबाट खेती गर्दा लगानी धेरै र उत्पादन कम हुन्थ्यो। अहिले सुधारिएको प्रविधि र जैविक मल प्रयोग गरेपछि परिणाम निकै राम्रो देखिएको छ।”

त्यस्तै, समूहकी सदस्य शिवकुमारी कापर भन्छिन्, “पहिले रोग लागेको बाली कसरी जोगाउने थाहा थिएन। अहिले रोग नियन्त्रण र माटोको हेरचाह गर्न सिकेका छौं, जसले आत्मविश्वास बढाएको छ।”

अर्की किसान दुलारीदेवी कापरका अनुसार सामूहिक सिकाइले महिलाहरूमा कृषिप्रतिको उत्साह बढाएको छ। “घरभित्र सीमित महिलाहरू अहिले खेतमा सक्रिय भएका छन्। यसले आत्मनिर्भर बन्ने बाटो खोलेको छ,” उनले भनिन्।

यो कार्यक्रम नेपाल सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गतको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना अन्तर्गतको उप–आयोजना, क्लस्टर एकाइ धनुषाद्वारा सञ्चालित हो। यसमा संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (FAO) ले सहयोग पुर्‍याएको छ।

हाल बटेश्वर गाउँपालिकामा ४६ वटा समूह गठन गरिएका छन्, जसले किसानहरूलाई आधुनिक सीप, बिउ, प्रविधि र बजार पहुँचका तालिम दिइरहेका छन्। स्थानीय कृषि प्राविधिकहरूका अनुसार, सुधारिएको खेती प्रणाली अपनाउने किसानहरूको संख्या तीव्र गतिमा बढ्दै गएको छ, जसले गाउँपालिकाको समग्र कृषि उत्पादनमा सकारात्मक रूपान्तरण ल्याएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *