काठमाडौं । राजधानीका प्रमुख संवेदनशील क्षेत्रहरूमा दुई महिनासम्म कुनै पनि किसिमका विरोध, जुलुस वा सभा गर्न नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रपति कार्यालय शीतल निवासदेखि सिंहदरबार र प्रधानमन्त्री निवास बालुवाटारसम्मका क्षेत्रमा प्रदर्शन निषेध आदेश जारी गरेको हो।
प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) अनुसारको अधिकार प्रयोग गर्दै पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउने गरी निषेधाज्ञा जारी गरेका हुन्। यो आदेश कार्तिक १ गतेदेखि लागू भई मंसिर अन्त्यसम्म कायम रहने प्रशासनले जनाएको छ।
प्रशासनले जारी गरेको सूचनामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालयहरू, उच्चपदस्थ व्यक्तिहरूका निवास तथा अन्य प्रमुख प्रशासनिक क्षेत्र वरपर हुने प्रदर्शनहरूले अस्थिरता, तोडफोड वा आगजनीको जोखिम निम्त्याउन सक्ने भन्दै निषेधाज्ञा लागू गरिएको उल्लेख गरिएको छ।
सूचनामा भनिएको छ, “विगतका झैँ यसपटक पनि पाँच जनाभन्दा बढी व्यक्तिहरूले भेला भई अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा गर्न निषेध गरिएको छ।”
निषेधाज्ञा लागू हुने प्रमुख क्षेत्रहरू:
शीतल निवास क्षेत्र: प्रहरी प्रशिक्षण प्रतिष्ठान चोकदेखि सामाखुशी खोलासम्म।
उपराष्ट्रपति कार्यालय लैनचौर: केशरमहल चोकदेखि मल्ल होटल सिमानासम्म।
नारायणहिटी दरबार संग्रहालय क्षेत्र: केशरमहल चोकदेखि जयनेपाल मोड र महेन्द्र सालिकसम्म।
सिंहदरबार क्षेत्र: भद्रकाली मन्दिर, सर्वोच्च अदालत र जिल्ला अदालत वरपर।
प्रधानमन्त्री निवास बालुवाटार क्षेत्र: पवित्र वर्कशप चोकदेखि भाटभटेनी लक्ष्मी बैंक अगाडिसम्म, साथै राष्ट्रिय सभा अध्यक्ष र प्रधानन्यायाधीशको निवास वरपर १०० मिटर क्षेत्रभित्र।
प्रशासनले स्पष्ट पारेको छ कि निषेधित क्षेत्रबाहेकका स्थानमा नागरिकले शान्तिपूर्ण रूपमा विरोध गर्न पाउने संवैधानिक अधिकार सुरक्षित छ। तर, अनुमति लिएर गरिने कार्यक्रमका क्रममा सरकारी, सार्वजनिक वा निजी सम्पत्तिमा क्षति भए आयोजक स्वयं जिम्मेवार हुने चेतावनी दिइएको छ।