बाजुरा। हिमाली जिल्लाका किसानले यस वर्ष स्याउ बिक्रीबाट झण्डै एक करोड २० लाख रुपैयाँ आम्दानी गरेका छन् । स्वच्छ हावा, ठण्डा मौसम र अर्गानिक उत्पादनका कारण बाजुराको स्याउ देशका सहरहरूमा लोकप्रिय बन्दै गएको छ ।
हिमाली, स्वामिकार्तिक खापर, जगनाथ, बुढीनन्दा, खप्तड छेडेदह र गौमुल गाउँपालिकाका किसानहरूले आफ्नै गाउँमै उत्पादन गरेको स्याउ सुर्खेत, नेपालगञ्ज, धनगढी लगायतका सहरमा पठाएर यो आम्दानी गरेको हुन् ।
बुढीनन्दा नगरपालिकाका किसान मानबहादुर रावतका अनुसार स्याउ उत्पादन राम्रो भए पनि बाटो र बजारको समस्या मुख्य चुनौती बनेको छ । “स्याउ हरेक वर्ष राम्रै फल्छ, तर बिक्री गर्न बजार पुर्याउन बाटो नहुँदा घाटा बेहोर्नुपर्छ,” रावतले भने, “यदि बाटो र बजारको सुविधा पायौं भने हामी अन्य खेती छोडेर पनि स्याउमै निर्भर हुन सक्थ्यौं।”
गत वर्षभन्दा यो वर्ष अलि कम उत्पादन भए पनि कर्णाली करिडोरको बाटो खुलेपछि किसानलाई स्याउ बजार पुर्याउन सहज भएको छ । यही कारण धेरै किसानले लाखौं रुपैयाँ आम्दानी गरेका छन् ।
स्वामिकार्तिक खापर गाउँपालिकाका मात्र किसानहरूले ४० लाख रुपैयाँ बराबरको स्याउ बिक्री गरेको गाउँपालिका कृषि विकास शाखा प्रमुख विनोद शाहीले जानकारी दिए । उनका अनुसार गाउँपालिकाका करिब १६ सय परिवार स्याउ खेतीमा संलग्न छन्, र अहिले १२ ट्रक स्याउ विभिन्न सहरमा बिक्री भइसकेको छ ।
कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीका अनुसार अहिले जिल्लामा ५०४ हेक्टर क्षेत्रफलमा स्याउ खेती हुँदै आएको छ, तर उत्पादन भने करिब २०० हेक्टरमा मात्र सक्रिय छ । “यो वर्ष बाजुरामा १५० मेट्रिक टन स्याउ उत्पादन भएको छ,” साहनीले बताए, “गत वर्षभन्दा केही कम भए पनि किसानले करिब डेढ करोड रुपैयाँ बराबरको आम्दानी गरेका छन्।”
बाजुराका बुढीनन्दा, स्वामिकार्तिक र जगनाथ गाउँपालिकाका स्याउ बजारमा उत्कृष्ट गुणस्तरको रूपमा परिचित छन् । किसानहरूका अनुसार, सरकारी सहयोग र ढुवानी सहज भयो भने बाजुरा निकट भविष्यमा ‘स्याउको राजधानी’ बन्न सक्छ ।