दसैँपछि ताप्लेजुङमा अलैंचीको मूल्य लाग्यो उकालो: किसान र व्यवसायी दुवै उत्साहित

ताप्लेजुङ। ‘खोल्सीको कालो सुन’ भनेर चिनिने अलैंचीको मूल्य दसैँ सकिएसँगै निरन्तर वृद्धि हुन थालेको छ। असोज महिनाभर घट्दो क्रममा रहेको अलैंचीको मूल्य अहिले फेरि बढ्दै जाँदा किसान र व्यवसायी दुवै उत्साहित बनेका छन्।

पछिल्लो एक सातायता ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमा अलैंचीको मूल्य दैनिक ५ सयदेखि १ हजार रुपैयाँसम्म बढ्दै आएको छ। शुक्रबारसम्ममा अलैंचीको मूल्य प्रतिमन (४० किलो) ८५ हजार रुपैयाँ पुगेको छ। व्यवसायी कमल बरालका अनुसार गुणस्तरीय र ठूलो दानाको अलैंची अहिले ९० हजार रुपैयाँ प्रतिमनमा समेत बिक्री भइरहेको छ।

भदौ महिनामा बजारमा प्रवेश गर्दा अलैंचीको मूल्य प्रतिमन ८८ हजार रुपैयाँ थियो। तर दसैँअघि मूल्य घट्दै ८० हजार रुपैयाँमा झरेको थियो। अर्लैँची व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष भद्रबिर रेग्मीका अनुसार दसैँपछि पुनः मूल्यमा सुधार आउन थालेको छ। “दैनिक एक–दुई हजारले बढ्दा पनि किसानहरूमा उत्साह फर्किएको छ,” रेग्मीले बताए।

नेपालमा उत्पादन हुने अलैंचीको मूल्य अन्तर्राष्ट्रिय बजारले निर्धारण गर्ने भएकाले यहाँको बजार अस्थिर रहँदै आएको व्यवसायीहरू बताउँछन्। तर यस वर्षको शुरुदेखि नै मूल्य सन्तोषजनक रहेकाले किसानहरूले राम्रो आम्दानीको आशा गरेका छन्।

ताप्लेजुङमा अलैंची प्रमुख नगदेबालीका रूपमा चिनिन्छ। कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार जिल्लाका नौ स्थानीय तहमध्ये ओलाङ्चुङगोला बाहेक सबै वडामा अलैंची खेती हुने गरेको छ। अहिले करिब ४,१६५ हेक्टर क्षेत्रफलमा अलैंची खेती भइरहेको र गत वर्ष २,५३१ मेट्रिक टन उत्पादन भएको तथ्यांक छ।

किसानहरूका अनुसार यो वर्ष उत्पादन केही घटे पनि मूल्य वृद्धि हुने संकेतले सन्तोष मिलेको छ।
“दसैँपछि बजार तात्दै गएको छ, यदि मूल्य यस्तै रह्यो भने यो वर्षको मिहिनतको फल राम्रै पाइनेछ,” सिँकगाउका किसान गणेश लिम्बूले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *