काठमाडौं। नेकपा एमालेबाट ओखलढुंगाको लिखु गाउँपालिकामा अध्यक्ष पदमा उम्मेदवारी दिएका मिलनकुमार विष्टविरूद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ।
उनीविरूद्ध भक्तपुर जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएकोले खोजी कार्य सुरू गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायब उपरीक्षक सुकदेव खनालले जानकारी दिनुभयो।
विष्टविरूद्ध नेपाली कांग्रेसबाट उम्मेदवार रहेका अशोक कार्कीले निर्वाचन अधिकृत कार्यालयमा उजुरी दिनु भएको थियो। विष्टविरूद्ध ०७७ मा भक्तपुरमा बैंकिङ कसुर र दोहोरो नागरिकता लिएको आरोपमा मुद्दा दर्ता भएको थियो। त्यसयता वहाँ फरार रहेको बताइएको छ। ‘अदालतले पक्राउ पूर्जी जारी गरेको छ। अदालतको आदेश कार्यान्वयन हुन्छ, हामी मानिस खोजतलास गर्छौं,’ खनालले भन्नुभयो।