काठमाडौं । हमासद्वारा अपहरणपछि हत्या गरिएका नेपाली विद्यार्थी विपिन जोशीप्रति पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले दु:ख व्यक्त गर्दै गहिरो श्रद्धाञ्जली अर्पण गरेका छन्।
नेता खनालले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै जोशीको निधनलाई “नेपाल र नेपालीका लागि अत्यन्त दुखद घटना” भनेर उल्लेख गरेका छन्।
खनालले भनेका छन्, “विपिन जोशीको अपहरणपश्चात् उहाँको सकुशल रिहाइका लागि नेपाल सरकार, सम्बन्धित निकायहरू तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय तहमा भएका निरन्तर प्रयासहरूका बाबजुद पनि उहाँलाई जीवित फर्काउन नसक्नु सरकारको गम्भीर असफलता हो।”
उनले उक्त घटनाले नेपालको परराष्ट्र नीतिमा रहेको कमजोरीलाई स्पष्ट रूपमा उजागर गरेको टिप्पणी गर्दै दिवंगत विपिनप्रति हार्दिक श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
मंगलबार महाकाली नदीमा जोशीको अन्त्येष्टि गरिएको छ।