काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले छठ पर्वको अवसरमा सूर्यदेव र छठी माताको पूजा–आराधना गरेकी छिन्। उनी सोमबार साँझ काठमाडौंको कमलपोखरी पुगेर छठ पूजामा सहभागी भएकी हुन्।
परम्परागत वेशभूषामा उपस्थित भएकी प्रधानमन्त्री कार्कीले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै देशभरका श्रद्धालुहरूले मनाइरहेको छठ पर्वको सफलताको कामना गरेकी थिइन्।
आज छठ पर्वको मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ भने भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै पर्व समापन गरिने परम्परा रहेको छ।
अस्ताउँदो सूर्यलाई अर्घ्य दिने दिन सरकारले सार्वजनिक बिदा दिएको छ। व्रतालुहरूले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने तयारी गरेका छन्।
छठ पर्वलाई सूर्य उपासना र प्रकृतिप्रतिको कृतज्ञता व्यक्त गर्ने पर्वका रूपमा मानिन्छ। काठमाडौंसहित देशभरका नदी, तलाउ र पोखरीहरूमा आज साँझ हजारौं व्रतालुहरू श्रद्धा र आस्थासहित छठ आराधनामा तल्लीन भएका छन्।
