बबई नदीको पुल : म्याद सकिन १० दिन बाँकी, काम मात्र ३० प्रतिशत पूरा

घोराही । दाङको बबई नदीमा निर्माणाधीन पुल म्याद सकिन १० दिन मात्र बाँकी रहँदा पनि काम ३० प्रतिशत मात्र पूरा भएको छ। निर्माण व्यवसायीको ढिलासुस्ती र बजेट अभावका कारण नेत्रलाल मार्ग अन्तर्गत घोराही उपमहानगरपालिका–५, खैरागनार र वडा नं. ६ लखुवार जोड्ने पुल समयमै सम्पन्न हुन सकेको छैन।

पुल सेक्टर कार्यालय नेपालगन्जका इन्जिनियर रामकिसुन चौधरीका अनुसार पुल निर्माणको ठेक्का २०७९ मङ्सिर २१ गते काठमाडौँको शान्ति निर्माण सेवा अनामनगरसँग १७ करोड एक लाख एक हजार रुपैयाँमा सम्झौता गरिएको थियो। सम्झौता अनुसार २०८२ कात्तिक २० भित्र पुल निर्माण सम्पन्न हुनुपर्ने थियो।

तर अहिले पुलको भौतिक प्रगति ३० प्रतिशत र वित्तीय प्रगति २६ प्रतिशत मात्र रहेको उनले बताए। “पुल अन्तिम चरणमा पुगिसक्नुपर्ने थियो, तर ठेकेदारको सुस्त गतिका कारण र बजेट अभावले काम निकै ढिलो भएको हो,” इन्जिनियर चौधरीले बताए।

पुल १२० मिटर लामो रहनेछ भने हालसम्म करिब तीन वटा पिल्लरको फाउन्डेसन मात्र निर्माण सम्पन्न भएको छ। बर्खाको मौसमका कारण गत असारदेखि रोकिएको काम अब फेरि सुरु गर्ने तयारी भइरहेको कार्यालयले जनाएको छ।

स्थानीयवासीहरूले लामो समयदेखि पर्खंदा पनि पुल पूरा नहुँदा आवागमनमा समस्या झेल्नुपरेको गुनासो गर्दै काम छिटो सम्पन्न गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *