कालीकोटमा बहुमूल्य ‘काइनाइट’को चोरीनिकासी बढ्दो: तस्कर सक्रिय , राज्य मौन

कालीकोट । कालीकोट जिल्लाको शुभकालिका गाउँपालिका–३ मा रहेको बहुमूल्य खानीजन्य पदार्थ ‘काइनाइट’को चोरीनिकासी दिनप्रतिदिन बढ्दै गएको छ। संरक्षण र निगरानी अभावका कारण यो दुर्लभ खनिज रातारात तस्करी हुँदै आइरहेको छ।

साबिकको भर्ता गाविसको लेख क्षेत्रमा अवस्थित काइनाइट खानी विश्वमै सीमित स्थानमा मात्रै पाइने खानीमध्ये एक मानिन्छ। तर, सरकारी योजनाको अभाव र स्थानीय प्रभावशालीको मिलेमतोका कारण यसको दुरुपयोग खुलेआम भइरहेको स्थानीयले आरोप लगाएका छन्।

स्थानीय बासिन्दा छत्र रोकामगरले पटक–पटकको सरकारी निर्णय र वाचा केवल कागजमा सीमित भएको आरोप लगाउँदै भने, “यहाँका ठूला मान्छे र तस्करबीचको मिलेमतोका कारण काइनाइट बेचबिखन भइरहेको छ। अब प्रशासनले वास्तविक कदम चाल्छ कि फेरि नाम मात्रैको अनुगमन हुन्छ, हेर्न बाँकी छ।”

गत शुक्रबार कालीकोटका प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलको नेतृत्वमा प्रशासन, सुरक्षाका निकाय र स्थानीय नेताहरूको टोलीले काइनाइट क्षेत्रको स्थलगत अनुगमन गरेको थियो। अनुगमनपछि काइनाइटको चोरी र संरक्षणबारे स्थानीय तहमा व्यापक बहस सुरु भएको छ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जनकराज शर्माले स्थानीय तहले संरक्षणको प्रयास गरे पनि सफल हुन नसकेको जनाउँदै भने, “अब सम्बन्धित निकायबीच छलफल गरेर निकासी प्रक्रिया र निगरानी प्रणालीबारे ठोस निर्णय गरिनेछ।”

स्रोतका अनुसार पहिले निकासी अनुमति पाएका केही ठेकेदार अहिले पनि अनधिकृत रूपमा खनिज निकालिरहेको आशंका गरिएको छ।

नेपालका हिमाली क्षेत्रका केही सीमित भू–भागमा मात्र पाइने काइनाइट भारतको झारखण्ड, कर्नाटक, अमेरिका, ब्राजिल, स्विजरल्यान्ड, रुस र केन्या जस्ता देशहरूमा पनि पाइन्छ। तर कालीकोटको खानीलाई विश्वकै महत्त्वपूर्ण स्रोतको रूपमा चिनिने गरिन्छ।

तर संरक्षण अभाव र तस्करहरूको सक्रियताका कारण यो बहुमूल्य प्राकृतिक सम्पदा क्रमशः सकिँदै जाने चिन्ता बढ्दै गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *