काठमाडौं । पुर्व प्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल सोमबार साँझ भारतको दिल्लीबाट काठमाडौं फर्किएका छन् । डेढ महिनादेखि पत्नी रविलक्ष्मी चित्रकारको उपचारका क्रममा दिल्लीमा रहेका खनाल पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन स्वदेश फर्किएका हुन् ।
अपोलो अस्पतालमा उपचाररत उनकी पत्नीको स्वास्थ्यमा पछिल्ला दिनमा उल्लेखनीय सुधार आएको छ । चिकित्सकहरूले स्वास्थ्य अवस्था स्थिर रहेको र केही समय चिकित्सकको निगरानीमा रहन सुझाव दिएपछि खनाललाई अस्थायी रूपमा नेपाल फर्कन सहज भएको हो ।
खनाल निकट स्रोतका अनुसार, “रविलक्ष्मीजीको स्वास्थ्य अवस्था पहिलेभन्दा निकै सुधार भएको छ । त्यसैले खनालज्यू केही दिन नेपाल फर्किनु भएको हो । बैठक सकेर फेरि दिल्ली जाने तयारीमा हुनुहुन्छ,” स्रोतले बतायो ।
पार्टीले बुधबारदेखि शुक्रबारसम्म सुकेधारास्थित मिराकल पार्टी भेन्युमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठकमा माओवादी केन्द्र, विप्लव समूहलगायत वाम घटकबीच सम्भावित एकताबारे छलफल हुने एजेन्डा रहेको छ ।
तर खनाल भने सो एजेन्डाप्रति सकारात्मक छैनन् । दिल्लीमै रहँदा उनले ‘वाम एकता असमय र असार्थक’ भएको भन्दै विज्ञप्ति जारी गरेका थिए । बैठकमा पनि उनले सोही धारणा दोहोर्याउने तयारी गरेको उनका सहयोगीहरूले जनाएका छन् ।
उनका स्वकीय सचिव कृष्ण भट्टराईले भने, “उहाँको अनुपस्थितिमा एकताबारे धेरै हल्ला फैलाइएको थियो । बैठकमा उहाँ आफ्नो स्पष्ट धारणा राखेर पुनः दिल्ली फर्कनुहुन्छ।”
पार्टी अध्यक्ष माधवकुमार नेपालले वाम एकताको प्रस्ताव अघि सारे पनि शीर्ष नेतामाझ मतैक्य नभएको स्थायी कमिटी स्रोतले बतायो । खनाल एकता प्रक्रियामा असहमत देखिएका छन् ।
खनालका नजिकका नेताका अनुसार, “उहाँ वाम आन्दोलनको सैद्धान्तिक स्पष्टता कायम राख्नुपर्छ भन्ने पक्षमा हुनुहुन्छ । अहिलेको अवस्थामा माओवादी केन्द्रसँगको एकता आन्दोलनलाई उल्झाउने खतरा देख्नुहुन्छ ।”
पार्टी बैठक सकेर खनाल फेरि दिल्ली फर्कने तयारीमा छन् । दिल्लीमा नै उनकी पत्नी रविलक्ष्मी चित्रकार अझै अस्पतालको निगरानीमा रहनेछिन् ।
