दाङ । बालीनाली भित्र्याउने तयारीमा रहेका किसानको मुटु बेमौसमको वर्षाले जलाएको छ । काटिसकेको धान खेतमै भिजेपछि दाङका किसानहरू चिन्ताको बादलमा हराएका छन् । निरन्तर वर्षाका कारण खेतमा थुप्रिएको धान उम्रिने डरले उनीहरू रातभर निद्राविहीन बन्दै छन् ।
दंगीशरण–३ हेकुलीका किसान भीमबहादुर चौधरीले थ्रेसरमा हाल्ने तयारीमा राखेको धान वर्षाले डुबाएपछि आकाशतिर हेरेर सुक्का सास फेर्नुभन्दा अरू विकल्प छैन । “सोमबार रातिदेखि लगातार पानी पर्यो, न धान घरमा ल्याउन सकियो, न राति सुत्न पाइयो,” चौधरीले भन्नुभयो, “अब खेतमै उम्रिने डरले मुटु पोलिरहेको छ ।”
उहाँका अनुसार हेकुली क्षेत्रमा मात्रै करिब चार सय विघा खेतमा खेती गरिएको छ, जसको ठूलो हिस्सा अहिले पानीमा डुबेको छ। “मसँग १० कठ्ठा खेत छ, आधा धान खेतमै डुबेको छ,” उहाँले दुःख पोख्नुभयो, “यही धानबाट परिवार पाल्थें, अब आश टुट्दैछ।”
सोही गाउँका इटलाल चौधरी पनि समान पीडामा छन् । “धान काटेर थ्रेसर ल्याउने तयारीमा थियौं, तर वर्षाले सबै योजना डुबायो,” उहाँले भन्नुभयो, “अब खेतमै अंकुराए भने वर्षभरको मेहनत पानीमा जान्छ।”
कृषि ज्ञान केन्द्र घोराहीका सूचना अधिकारी पृथ्वीराज लामिछानेका अनुसार दाङमा करिब २० प्रतिशत किसानले अझै धान भित्र्याउन सकेका छैनन् । “देउखरी क्षेत्रमा करिब ८० प्रतिशत किसानले धान सुरक्षित राखेका छन्,” उहाँले जानकारी दिनुभयो, “तर तुलसीपुर, दंगीशरण, बबई र घोराहीका क्षेत्रमा लगातारको वर्षाले धानमा ठूलो असर पारेको छ।”
लामिछानेका अनुसार काटिसकेको धानमा तीन दिनभन्दा बढी पानी परेमा ८० प्रतिशतसम्म क्षति पुग्ने सम्भावना छ। “यदि शुक्रबारसम्म घाम लाग्यो भने केही धान बच्न सक्छ,” उहाँले थप्नुभयो, “तर वर्षा जारी रह्यो भने किसानहरूको वर्षभरको पसिना बाढीमा बग्नेछ।”
दाङमा यस वर्ष करिब ३५ हजार हेक्टर क्षेत्रमा धान खेती गरिएको थियो, जसको ठूलो हिस्सा अहिले असमयको वर्षाले जोखिममा परेको छ।
